गत आइतबार (२९ गते) भारतको नयाँदिल्लीबाट एयर इन्डिगोको जहाज टर्कीको इस्तानबुलका लागि उड्यो।
जहाज सामान्य रूपमा इस्तानबुलको विमानस्थलमा अवतरण भयो, यात्राका क्रममा पनि केही घटना भएको थिएन।
यात्रुहरू जहाजबाट ओर्लिए। लगेज लिने ठाउँमा गएर आफ्ना सामान पर्खिए। कन्वेयर बेल्टमा उनीहरूको सामानको साटो एउटा चिठी घुम्दै आइपुग्यो। यात्रुले चिठी पढे। एयर इन्डिगोले पठाएको चिठीमा सबै यात्रुको सामान दिल्लीमै छुटेको व्यहोरा थियो।
चिठी पढेर यात्रुहरू चकित भए।
जहाजमा १३० भारतीय यात्रु आएका थिए।
त्यसमध्ये एकयात्रुले एयर इन्डिगोको उक्त लापरबाहीबारे सामाजिक सञ्जाल ट्विटरमा रिस पोखे। अरू यात्रु पनि रिसाए। कतिपय यात्रुले त लगेजमा औषधी राखेका थिए।
इन्डिगोले फेरि सूचना निकालेर माफी मागेको छ र घटना अनुसन्धान गर्ने जनाएको छ।