पशुपतिनाथको पश्चिम गेटबाहिर शंकास्पद वस्तु फेला परेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली परिचालन भएको छ।
बम भएको हुनसक्ने आशंकामा नेपाली सेनाको टोली पनि त्यहाँ खटिइसकेको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए। ‘शंकास्पद वस्तु देखिएकाले त्यो के हो भनी पहिचान गर्ने काम भइरहेको छ,’ सिंहले सेतोपाटीसँग भने, ‘नेपाली सेनाको टोली पनि खटिइसकेको छ।’
शंकास्पद वस्तु फेला परेको ठाउँलाई सुरक्षित राखेर अनुसन्धान थालिएको उनले बताए। उनका अनुसार पशुपति विकास कोषको सरसफाइ कक्षको धारामा कपडामा बेरेर राखेको वस्तु फेला परेपछि अनुसन्धान थालिएको हो।