नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीहरूलाई शुक्रबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरो प्रमुख निरजबहादुर शाहीले बताए।
दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानको क्रममा पक्राउ गरी प्रहरीले बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी गरेको हो।
‘पक्राउपछि अनुसन्धान थालिएको छ, बैंकिङ कसूरमा मुद्दा अभियोजन हुन्छ,’ शाहीले सेतोपाटीसँग भने।
नक्कली कागजातका आधारमा कर्जा निष्कासन भएपछि बैंक अफ काठमाडौंले प्रहरीमा निवेदन दिएको थियो।