सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित मनकामना कपास उद्योगमा आइतबार बिहान आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार मोरङ विराटनगर महानगरपालिका-५ घर भएकी ५४ वर्षीया सरिता चौलागाईंको कपास उद्योगमा आइतबार बिहान आगलागी भएको हो।
आगलागीमा कपडा पेल्ने मेशिन २ थान, मेसिनको मोटर २ थान, बा५४ प ६१६८ नम्बरको मोटरसाइकल, विभिन्न थरिका कपडा र कपास जलेर करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट सो उद्योगसँगै जोडिएको चेन लिंक इन्जिनियरिङको टहरामा बस्ने कामदारको करिब २० हजार रुपैयाँ बराबरको लत्ताकपडासमेत जलेर नष्ट भएको छ।
नेपाल प्रहरी, नेपाली सेना, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागी हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।