काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्ग बनाउन आज(सोमबार) सम्झौता हुने भएको छ।
२.६ किलोमिटर लामो यो सुरुङ जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले निर्माण गर्न लागेको हो। निर्माण सुरू भएको ४२ महिनामा सक्ने भनिएको सुरुङमार्ग समयमै सकिए नेपालको पहिलो सडक सुरुङ मार्ग हुने छ।
आज हुने सम्झौतामा हाज्मा–आन्द्रो जेभीका प्रतिनिधि र नेपालका तर्फबाट सडक विभागको नेपाल विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले हस्ताक्षर गर्नेछन्।
आयोजना १३ अर्बको लागतमा बन्न लागेको हो।
आयोजना निमार्णको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक सहयोग हुनेछ। यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ। सोमबार सम्झौता भए पनि निर्माण सुरू गर्न केही समय लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए ।
‘आयोजनाको काम सुरू हुनुपूर्व चार सर्त पूरा हुनुपर्छ, त्यसको लागि एक महिना लाग्न सक्छ, त्यसपछि निर्माण सुरू हुन्छ,’ खरेलले भने।
उनका अनुसार निर्माण सुरू गर्न निर्माणको सम्झौता, आर्थिक स्रोत, आयोजना स्थलको उपलब्धता र मोबिलाइजेसन खर्च आवश्यक हुन्छ। अन्य सर्तहरू पूरा भए पनि आयोजना स्थल पूर्ण रूपमा उपलब्ध नभइसकेकोले समय लाग्न सक्ने खरेलको भनाइ छ। धादिङतर्फको जग्गा समस्या समाधान गर्न एक महिना लाग्ने उनले बताए।
धादिङतर्फको जग्गा विवादका कारण निर्माण प्रकृया पछि धकेलिँदै आएको थियो। त्यहाँका स्थानीयले काठमाडौंतर्फकै मूल्यमा जग्गाको मुआब्जा माग गरेपछि जग्गा सम्झौता हुन सकेको थिएन। गत साउन २१ मा सरकारले प्रस्ताव गरेको दरमा नै स्थानीयले मुआब्जा लिन मानेपछि प्रकृया अघि बढेको थियो।
‘मुआब्जा लिन माने पनि कतिपय जग्गाको लालपुर्जा छैन, कुनै गुठीको जग्गा छ,’ खरेलले भने, ‘यसलाई मन्त्रिपरिषदबाट निर्णय गर्नु पर्नेछ।’