आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच आज वार्ता हुने भएको छ।
कलेज सञ्चालकले दिउँसो २ बजे वार्तामा डाकेको एमबिबिएस तेश्रो वर्षका विद्यार्थी सुमित पटेलले जानकारी दिए।
कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ता दिनुपर्ने र रकम तिरेको भौचर दिनुपर्ने दुई मुख्य माग राख्दै विद्यार्थीहरुले गण्डकी मेडिकल कलेजमा तालाबन्दी गरेका छन्। विद्यार्थी आन्दोलनका कारण गण्डकी मेडिकल कलेजको पठनपाठन ठप्प छ।
गण्डकी मेडिकल कलेजका सञ्चालकलाई सरकारले सात महिनाअघि अतिरिक्त शुल्क फिर्ता दिन निर्देशन दिएको थियो। तर सञ्चालक खुमा अर्यालले अटेर गर्दै आएका छन्। उनले आन्दोलनमा होमिएका विद्यार्थीलाई समेत धम्की दिएको खुलेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारीले विद्यार्थीहरुले रकम तिरेको भौचर दिन सञ्चालकलाई निर्देशन दिएपनि सञ्चालकले अटेर गर्दै आएका छन्।
एमबिबिएस अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले काठमाडौं बाहिरको हकमा ४२ लाख शुल्क तोकेको छ। तर कलेज सञ्चालकले साठी लाखसम्म शुल्क असुल्दै आएका छन्।