बैतडीको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन्।
शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो।
पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृद्ध कर्णसिंह साउदले बताए। सडक बन्ला भन्ने सपना पनि नदेखेकोमा गाडीसमेत गुडेको देख्दा खुशी लागेको उनको भनाइ थियो।
सडक उद्घाटनपश्चात् पिपलकोटमा पहिलोपटक म१ज २७२ नम्बरको जिप पुगेपछि स्थानीय बासिन्दाले उक्त जिपका चालक वीरेन्द्र महतालाई सम्मान गरेका थिए। उक्त गाउँपालिकाको वडा नम्बर ४ मा सडक सञ्जाल विस्तार भएसँगै सहजरूपमा आहोरदोहोर गर्न पाइने भएको छ।
खाद्यान्न र दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सजिलो हुने पिपलकोटका व्यापारी दीपेन्द्र साउदले बताए। सडकसम्म पुग्न तथा गाउँपालिका केन्द्रसम्म पुग्न दुई घण्टा उकालो हिँड्नुपर्ने बाध्यता अहिले अन्त्य भएको स्थानीयवासी मदन साउदको भनाइ थियो।
सडक सञ्जाल विस्तार भएसँगै सस्तो र सुलभ मूल्यमा गाउँमै सम्पूर्ण सामान उपलब्ध हुने पिपलकोटका अर्का व्यापारी रामचन्द्र महताले बताए।
करीब ३७ लाख रुपैयाँको लागतमा उक्त सडक निर्माण भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। रासस