खुला सार्वजनिक स्थलहरू संरक्षण गर्नुपर्ने काठमाडौं महानगरपालिकाले दसैंको मौका छोपेर खुलामञ्चमा कालोपत्रे सुरू गरेको छ।
यहाँ केही समयदेखि अस्थायी बसपार्क सञ्चालन हुँदै आएको थियो। यो बसपार्क जतिसक्दो छिटो यहाँबाट हटाउन दबाब बढिरहेका बेला महानगरले उल्टै बसहरूको सुविधा निम्ति कालोपत्रे गरेर स्थायी रूप दिन खोजेको छ।
अरू बेला स्थानीयको विरोध झेल्नुपर्ने देखेर महानगरले दसैंमा सबै आ-आफ्नै काममा व्यस्त रहेको मौका छोपेको हो। अस्थायी बसपार्कमा कालोपत्रे सुरू गरिएकाले स्थानीय रूटका गाडीहरू रत्नपार्क र भोटाहिटीबाट सञ्चालन हुने मेट्रो ट्राफिकले सूचना जारी गरेको छ। दसैंको विदासम्म यहाँको काम सकाउने महानगरको लक्ष्य छ।
हामीले यसबारे महानगरका सूचना अधिकारी वसन्त आचार्यसँग कुरा गर्दा उनले खुलामञ्चमा रहेको बसपार्कमा कालोपत्रे सुरू गरिएको स्वीकार गरे।
दसैं बेला भीडभाड कम हुने भएकाले यति बेला काम गर्न सजिलो हुने उनको भनाइ छ। ‘यहाँ सडक पिच नभएर धुँवा–धुलो उड्यो, वातावरणलाई नै असर पुगिरहेको थियो। त्यही भएर पिच गर्न लागेका हौं,’ उनले भने।
आचार्यका अनुसार दसैंको समय सवारी साधन कम हुन्छन्। चाडबाड मनाउन सार्वजनिक विदा भएको र मानिस पनि धेरै बाहिर गएकाले कम असर पर्ने भन्दै यही समय उपयुक्त ठानिएको उनले बताए।
कुनै समय 'एसियाकै ठूलो परेड मैदान' भनिने टुँडिखेलको एकचौथाइ हिस्सा पनि सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्। आधाभन्दा बढी सेनाकै अतिक्रमणमा परेको छ। बचेको भाग महानगरले मिचेको छ। खुलामञ्च त्यसैमध्ये एक हो। पहिले यो सबैका लागि खुला थियो, राजनीतिक तथा सामाजिक गतिविधि हुन्थे।
महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि यो मञ्च पार्किङ स्थल बनेको छ। यहाँ राजनीतिक नाराबाजी होइन, सार्वजनिक बसको कोलाहल सुनिन्छ। उता ठेकेदारले टावर बनाउने काम सुरू नै नगरी अलपत्र छाडेको छ, यता खुलामञ्चमा भने एकचोटि सुरू भएको अतिक्रमण त्यसपछि रोकिएको छैन।
खुलामञ्चको बसपार्क पुरानो बसपार्कमा निर्माण नसकुन्जेल अस्थायी रूपमा सञ्चालन गरिने आचार्य बताउँछन्। त्यो भनेको कति समय हो यकिन छैन।