दसैंको मौका छोपेर खुलामञ्च कालोपत्रे गर्न लागेको काठमाडौं महानगरपालिकाले रातारात डोजर चलाउन थालेको छ।
शनिबार साँझ सात बजे खुलामञ्च पुग्दा अस्थायी बसपार्कलाई बाहिरबाट नदेखिने गरी जस्ताले बारिएको थियो। ग्रिलबाट हेर्दा भित्र एउटा डोजर चलिरहेको थियो। आठ-दस जना मजदुरहरू धमाधम खनिरहेका थिए।
खुलामञ्च जस्तो सार्वजनिक स्थलमा अस्थायी बसपार्क सञ्चालन हुँदै आएको थियो। यो बसपार्क जतिसक्दो छिटो यहाँबाट हटाउन दबाब बढिरहेका बेला महानगरले उल्टै बसहरूको सुविधा निम्ति कालोपत्रे गरेर 'स्थायी' रूप दिन खोजेको छ।
खुलामञ्च कालोपत्रे गर्न हुने वा नहुनेबारे सार्वजनिक जानकारी नै नदिई महानगरले दसैंको मौका छोपेर रातारात काम सुरू गरेको हो।
अरू बेला स्थानीयको विरोध झेल्नुपर्ने देखेर महानगरले दसैंमा सबै आ-आफ्नै काममा व्यस्त रहेको मौका छोपेको हो। दसैंको विदासम्म यहाँको काम सकाउने महानगरको लक्ष्य छ। बसपार्कबाट सबै गाडी बाहिर निकालेर वीर अस्पतालअगाडि लश्कर लगाइएको छ। महानगरीय ट्राफिक प्रहरीले खुलामञ्च कालोपत्रे गर्ने अवधिसम्म भोटाहिटी र रत्नपार्कबाटै गाडी चलाउन सूचना निकालिसकेको छ।
हामीले यसबारे महानगरका सूचना अधिकारी वसन्त आचार्यसँग कुरा गर्दा उनले खुलामञ्चमा रहेको बसपार्कमा कालोपत्रे सुरू गरिएको स्वीकार गरेका थिए। दसैं बेला भीडभाड कम हुने भएकाले यति बेला काम गर्न सजिलो हुने उनको भनाइ छ।
‘यहाँ सडक पिच नभएर धुँवाधूलो उड्यो, वातावरणलाई नै असर पुगिरहेको थियो। त्यही भएर पिच गर्न लागेका हौं,’ उनले भने।
आचार्यका अनुसार दसैंको समय सवारी साधन कम हुन्छन्। चाडबाड मनाउन सार्वजनिक विदा भएको र मानिस पनि धेरै बाहिर गएकाले कम असर पर्ने भन्दै यही समय उपयुक्त ठानिएको उनले बताए।
कुनै समय 'एसियाकै ठूलो परेड मैदान' भनिने टुँडिखेलको एकचौथाइ हिस्सा पनि सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्। आधाभन्दा बढी सेनाकै अतिक्रमणमा परेको छ। बचेको भाग महानगरले मिचेको छ। खुलामञ्च त्यसैमध्ये एक हो।
पहिले यो सबैका लागि खुला थियो, राजनीतिक तथा सामाजिक गतिविधि हुन्थे। महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि यो मञ्च पार्किङ स्थल बनेको छ। यहाँ राजनीतिक नाराबाजी होइन, सार्वजनिक बसको कोलाहल सुनिन्छ।
उता ठेकेदारले टावर बनाउने काम सुरू नै नगरी अलपत्र छाडेको छ, यता खुलामञ्चमा भने एकचोटि सुरू भएको अतिक्रमण त्यसपछि रोकिएको छैन। खुलामञ्चको बसपार्क पुरानो बसपार्कमा निर्माण नसकुन्जेल अस्थायी रूपमा सञ्चालन गरिने आचार्य बताउँछन्। त्यो भनेको कति समय हो यकिन छैन।
काठमाडौं महानगरले 'भ्यू टावर' बनाएर त्यही भवनमा दुईतले भूमिगत बसपार्क बनाउने भनेको छ। भ्यू टावर बनेपछि बल्ल बसपार्क सञ्चालनमा आउनेछ। अर्थात्, जबसम्म यो भवन निर्माण पूरा हुँदैन, टुँडिखेलमाथि महानगरको अतिक्रमण जारी रहन्छ।
तोकिएको म्यादमा काम सकिएको भए अहिलेसम्म भ्यू टावर बनिसक्थ्यो। बसपार्क पनि टुँडिखेलबाट उता सरिसक्थ्यो। अझै कति समय यो भवन बन्नेवाला छैन। त्यतिञ्जेल मध्य-काठमाडौंको यति ठूलो सार्वजनिक स्थान सर्वसाधारण जनताले उपभोग गर्न पाउने छैनन्।
ठेकेदारको लापरबाहीले जनता सार्वजनिक सम्पति उपभोगबाट वञ्चित हुन्छन् भने त्यो घाटा नै हो। महानगरले यसको भर्पाइ कसरी गर्छ त्यसको हिसाब छैन। यसबारे गम्भीर भएर समस्या सल्टाउनुको सट्टा उल्टो महानगर खुलामञ्चलाई 'स्थायी बसपार्क' बनाउनेतिर उन्मुख छ।
यसअघि पनि खुलामञ्चमा ठेकेदार कम्पनीले व्यावसायिक सटर निर्माण गरेर भाडामा दिई अतिक्रमण गरेको थियो। महानगरले त्यो बेला आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिएको थियो। चौतर्फी विरोधपछि महानगरले सटरहरू हटाएको थियो।
सबै तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी