खुलामञ्च भन्नेबित्तिकै हामी २०४६ सालको जनआन्दोलन सम्झन्छौं, जसले तीसवर्षे पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था पुनर्स्थापना गर्यो।
०६२ सालको दोस्रो जनआन्दोलन पनि सम्झन्छौं, जसले नेपालबाट कम्तीमा दुई हजार वर्ष पुरानो राजतन्त्र अन्त्य गर्यो।
यसबाहेक साना–ठूला राजनीतिक विरोध र गतिविधिहरू, जसले लोकतन्त्र स्थापित गर्न एक–एक इँटा थप्यो।
खुलामञ्च काठमाडौंको त्यस्तो सार्वजनिक स्थल पनि हो, जहाँ दिनैभरिजसो सर्वसाधारण बदाम खाँदै फुर्सद काटिरहेका हुन्थे। चटकेहरू आफ्नो करतब देखाउँथे। जडिबुटी बेच्नेहरू कालो–सेतो धूलोलाई ‘सय मर्जका एक दवा’ भन्दै वरिपरि भिड जम्मा गर्थे। साँझ बेला कामकाज सकेर सुस्ताउन आउनेहरू पनि टन्न हुन्थे।
पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको र व्यस्त काठमाडौंलाई सास फेर्ने ठाउँ दिएको त्यही खुलामञ्च अब नामअनुसार खुला रहेन।
काठमाडौं महानगरपालिकाले करिब चार वर्षअघि पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि यो मञ्च बसहरूको पार्किङ स्थल बनेको छ। यहाँ राजनीतिक नाराबाजी होइन, सार्वजनिक बसको कोलाहल सुनिन्छ।
महानगरले यहाँ छ महिना मात्र अस्थायी बसपार्क बनाउने भनेको थियो। छ महिनामा ‘भ्यू टावर’ को भूमिगत पार्किङ तयार हुने र बसपार्क साविककै ठाउँमा सार्ने महानगरको दाबी थियो।
यसबीच ठेकेदारले टावर बनाउने काम सुरू नै नगरी अलपत्र छाड्यो। खुलामञ्चमा भने एकचोटि सुरू भएको अतिक्रमण रोकिँदै रोकिएन। दुई वर्ष बितिसक्दा पनि यहाँको बसपार्क जस्ताको तस्तै छ।
यसपालि त हदै भयो। दसैं बेला सबै आ–आफ्नो काममा व्यस्त रहेको मौका छोप्दै महानगरले खुलामञ्चलाई वरिपरि जस्ताले बारेर रातारात ढलान सुरू गर्यो।
स्थानीय तथा सम्पदा अभियन्ताहरूले खुलामञ्च खाली गर्न दबाब दिँदा दिँदै महानगरले सबैको आँखा छलेर ढलान गर्ने कोशिस गरेको हो। यसबारे कसैलाई सुइँकोसम्म दिइएन- न सार्वजनिक सूचना, न स्थानीय वडा प्रतिनिधि र अभियन्ताहरूसँग परामर्श।
महानगरीय ट्राफिक कार्यालयले ‘खुलामञ्चको बसपार्क स्थल ढलान गरिने हुँदा सार्वजनिक गाडीहरू भोटाहिटी र रत्नपार्कबाट चल्ने’ सूचना जारी गरेपछि बल्ल महानगरको गुपचुप योजना सार्वजनिक भयो।
खुलामञ्चमा शनिबार रातारात डोजर चल्दै थियो, यता अभियन्ताहरू रातारात संगठित हुन थाले।
आइतबार बिहान ९ बजे गणपतिलाल श्रेष्ठ, सञ्जय अधिकारी, सुसन वैद्य, रवि खड्गी, सुनिल वैद्य लगायत संरक्षणकर्मीहरू खुलामञ्च पुगे। वीर अस्पतालअगाडि खुलामञ्च छिर्ने मूलढोकामा लगाइएको जस्ताको बार भत्काउँदै भित्र छिरे। ठेकेदारसँग चर्काचर्की भयो। अभियन्ताहरूले ‘कसको अनुमतिमा ढलान गरेको’ भनेर सोध्दा ठेकेदारले जवाफ दिन सकेनन्। आधिकारिक कागज माग्दा त्यो पनि देखाउन सकेनन्।
अभियन्ताहरूले सबै कामदारलाई काम रोक्न लगाए, तर निर्माण स्थलबाट कसैलाई निस्कन दिएनन्। सिमेन्ट घोल्ने ‘मिक्सर’ निर्माण स्थलमा गुडिरहेको थियो, त्यसलाई पनि रोकेर राखे। भर्खरै गरिएको ढलानमाथि गाडी गुडाएर भताभुंग पारिदिए र बाँकी काम अघि बढ्न दिएनन्।
महानगरका प्रहरी प्रमुख धनपति सापकोटा र इञ्जिनियर उत्तरकुमार रेग्मीले ठेकेदारको पक्षमा बोल्दा स्थानीय बासिन्दा नाराबाजीमा ओर्लिए। ढलान तत्काल नरोके महानगरका पदाधिकारीलाई नै कालोमोसो दल्ने चेतावनी दिएपछि उनीहरू त्यहाँबाट फर्केका थिए।
काठमाडौंका संघीय सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गी र खुलामञ्च रहेको वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गी भने अभियन्ताहरूको समर्थन गर्दै खुलामञ्च पुगेका थिए।
उपमेयर खड्गीले आफूलाई खुलामञ्च ढलानबारे कुनै जानकारी नभएको बताइन्। यसनिम्ति महानगरसँग अनुमति नलिएको उनको दाबी थियो। वडाध्यक्ष खड्गीले पनि वडा कार्यालयसँग कुनै सरसल्लाह नभएको बताए।
सेतोपाटीले महानगरका सूचना अधिकारी वसन्त आचार्यसँग शनिबार यसबारे कुरा गर्दा खुलामञ्चमा ‘कालोपत्रे सुरू गरिएको’ बताएका थिए। उनले ढलानलाई कालोपत्रे भने पनि यो निर्माण महानगरकै अनुमतिमा भएको हो भन्ने छर्लंग पार्छ।
यति मात्र होइन, दसैं बेला भिडभाड कम हुने भएकाले काम गर्न सजिलो हुने आचार्यको भनाइ थियो। ‘यहाँ सडक पिच नभएर धूलोधुवाँ उड्यो, वातावरणलाई नै असर पुगिरहेको थियो। त्यही भएर पिच गर्न लागेका हौं,’ उनले भने।
स्थानीय तथा खुलामञ्च संरक्षण अभियन्ताहरू यो भनाइसँग सहमत छैनन्।
धूलोधुवाँ रोक्ने मात्र उद्देश्य भइदिएको भए खाल्डाखुल्डी टालटुल गरेर पुग्नेमा रातारात ढलान गरिनुले ‘स्थायी बसपार्क बनाउने षड्यन्त्र’ भएको अभियन्ता सुसन वैद्य बताउँछन्।
‘सरोकारवालाहरू कसैलाई सुइँको नदिई ढलान गरिनुले महानगरको आसय प्रस्ट हुन्छ,’ उनले भने, ‘टुँडिखेल भनेको काठमाडौंले सास फेर्ने ठाउँ हो। हामी सबै अतिक्रमण हटाएर यसलाई पुरानै स्वरुपमा फर्काउनुपर्छ भन्ने अभियानमा छौं। खुलामञ्चमा स्थायी बसपार्क बसाउने प्रपञ्च कुनै हालतमा सफल हुन दिँदैनौं।’
सार्वजनिक स्वामित्वको खुलामञ्च छापामार शैलीमा हडप्न रातारात ढलान गरिएको अर्का अभियन्ता गणपतिलालको भनाइ छ।
‘हामी आज बिहान सामान्य टालटुल मात्र गरेको हो कि पूरै कालोपत्रे गरेको हो भनेर हेर्न गएका थियौं,’ उनले भने, ‘त्यहाँ त बकाइदा ढलान गरेर स्थायी संरचना बनाउँदै गरेको देखेपछि तुरुन्त स्थानीय बासिन्दा र अभियन्ताहरूलाई निर्माण स्थलमा ढाकेर विरोध गरेका हौं।’
स्थानीय र संरक्षणकर्मी अभियन्ताको करिब डेढ घन्टा धर्ना र घम्साघम्सीपछि ढलान कार्य तत्काललाई रोकिएको छ।
उपमेयर खड्गीले भुइँमा बिछ्याइएका फलामे डन्डीहरू निकालेर लैजान र स्थायी प्रकृतिका कुनै पनि संरचना नबनाउन निर्देशन दिएकी छन्। धूलोधुवाँको समस्या हटाउन खाल्डाखुल्डीमा अस्थायी कालोपत्रे मात्र गर्न सकिने उनले बताएकी छन्।
'ढलान गरेर स्थायी संरचना बनाउनेबारे कहिल्यै छलफल भएन। मैले त चिनियाँ राष्ट्रपतिको भ्रमणलाई हेरेर खाल्डाखुल्डी टालटुल पार्न खोजेको भन्ने बुझेको थिएँ,' उनले सेतोपाटीसँग भनिन्, 'डन्डीहरू निकालेर अहिलेसम्म गरेको ढलान रोक्न निर्देशन दिइसकेको छु। चिनियाँ राष्ट्रपतिको भ्रमणमा धूलोधुवाँ नउडोस् भनेर सडक किनारका केही भाग अस्थायी कालोपत्रे भने गर्नुपर्ने हुनसक्छ।'
गृह मन्त्रालयले पनि ढलान कार्य रोक्न र तत्काललाई धूलोधुवाँ नियन्त्रण निम्ति खुलामञ्चका खाल्डाखुल्डीमा ग्राभेल मात्र गर्न निर्देशन दिएको छ।
आइतबारको घटना टुँडिखेल मास्ने उपक्रमको एउटा सानो हिस्सा मात्र हो।
टुँडिखेलबारे लेखेका बेलायती चिकित्सक हेनरी एम्ब्रोसले रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको यो चउर करिब पाँच किलोमिटर लामो र तीन सय मिटर चौडा भनेका छन्। कुनै समय यसलाई ‘एसियाकै ठूलो परेड मैदान’ भनिन्थ्यो, अहिले यो नाम मात्रको छ।
सार्वजनिक स्वामित्वको यो मैदान सर्वसाधारणले नै भोगचलन गर्न पाएका छैनन्। उत्तरपट्टि लश्करै रत्नपार्क, बसपार्क र सैनिक मञ्च तथा दक्षिणमा सैनिक हेडक्वार्टरले लगभग तीनचौथाइ खाइदिएपछि अब बीचको एकचौथाइ बाँकी छ।
टुँडिखेलको सबभन्दा बढी अतिक्रमण पञ्चायती व्यवस्थामा भयो। राजा महेन्द्रकै पालामा टुँडिखेल मिचेर सैनिक हेडक्वार्टर बन्यो। हेडक्वार्टर बनेपछि सहिदगेटको दक्षिण खण्डमा तारबार लगाइयो। त्यहाँ अहिले जनता छिर्न पाउँदैनन्।
रानीपोखरी डिलनिर पहिले ‘बाटुले चौतारो’ थियो। प्रशासनिक र व्यापारिक काम लिएर काठमाडौं आउनेहरू सहर छिर्नुअघि यहीँ बास बस्थे। पछि रानी रत्न राज्यलक्ष्मीलाई खुसी पार्न चौतारो मासेर उनकै नाउँमा रत्नपार्क बनाइयो। अहिले यहाँ पैसा तिरेर छिर्न पाइन्छ। लामो समय पर्खालबाहिरबाटै चित्त बुझाउनुपर्थ्यो। चौतारी भत्काएपछि नजिकैका महादेव मूर्ति र राजा प्रताप मल्ल हात्तीमा चढेको शालिक रानीपोखरीभित्र सारिएका छन्।
ग्रामीण पाहुनालाई बास दिन अहिले विद्युत प्राधिकरण भएको ठाउँनिर टहरा बनाइएको थियो। बास बस्नेहरूले फोहोर गरेको भन्दै सरकारले टहरा कब्जामा लियो। अहिले त्यहाँ पेट्रोल पम्प, आकासे पुलजस्ता संरचना छन्।
देश गणतन्त्रमा गइसक्दा पनि टुँडिखेल अतिक्रमण रोकिएको छैन।
टुँडिखेलको लगभग आधा हिस्सामा सैनिक शासन चल्छ। यहाँ सेनाको हेडक्वार्टर छ। खेल मैदान छ। त्यतिले नपुगेर सेनाले मनोरञ्जन निम्ति ‘आर्मी अफिसर्स क्लब’ बनाएका छन्। त्यसैलाई भाडामा लगाएर कमाइ गछन्। सयौंलाई भोज खुवाउन मिल्ने दुइटा पार्टी प्यालेस छन्। पछिल्लो समय चाइना टाउनअगाडि पुस्तकालय बनाइएको छ। सार्वजनिक जग्गाको यो पुस्तकालय सार्वजनिक प्रयोग निम्ति होइन।
चौतर्फी रूपमा भइरहेको अतिक्रमण रोक्ने जिम्मेवारी काठमाडौं महानगरको थियो, तर ऊ आफैं अतिक्रमणको हिस्सेदार बनेको छ। जसको पछिल्लो उदाहरण खुलामञ्चलाई बसपार्क बनाउनु हो।
यसअघि पनि खुलामञ्चमा ठेकेदार कम्पनीले व्यावसायिक सटर निर्माण गरेर भाडामा दिई अतिक्रमण गरेको थियो। महानगरले त्यो बेला पनि आफूलाई जानकारी नभएको भन्दै पन्छिएको थियो। चौतर्फी विरोधपछि बल्लतल्ल सटरहरू हटाइएका थिए।