मध्यपुर थिमीमा बुधबार सेतो जामामा ढाल, तरबार र खड्गका साथ गुठीयारहरू याेद्धाजस्तै देखिए। बाजाको संकेतमा ‘आक्रमण’ भन्दै उनीहरू टोलटोलमा युद्ध परेड खेल्दै थिए।
यो युद्धको झझल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा हो। दसैंको एकादशीको अवसरमा जात्रामा युद्धका बेलामा प्रयोग हुने सेतो वस्त्र, जामा लगाएका, ढाल, तरबार र खड्ग भिरेका, फलामबाट निर्मित सिक्रीजडित टोपी लगाएकाहरूले युद्ध परेड खेलेर नगर परिक्रमा गरेका थिए।
स्थानीयका अुनसार यो जात्रा मल्लकालीन हो। जात्रा काठमाडौं र ललितपुरमा मनाइने पात्रा/खड्ग जात्रासँग केही मिल्दोजुल्दो भएको स्थानीय केके मानन्धर बताउँछन्।
‘दरबार जहाँ छ अनि तलेजुसँग सम्बन्धित पूजा जहाँ गरिन्छ, त्यहाँ यस्तै जात्रा भएको देखियो,’ उनले भने, ‘अन्य ठाउँमा साधारण भेषभुषा लगाएर खड्ग बोकेर परिक्रमा गर्ने भए पनि यहाँ युद्धकै भेषभुषा लगाएर खड्गसँगै तरबार र ढाल लिएर युद्ध परेड नै हुन्छ।’
पहिले काठमाडौं, भक्तपुर र ललिलपुर नेपाल मण्डल अन्तर्गत थियो। मल्लकालको मध्यतिर राजा रत्न मल्लको पालामा नेपाल मण्डल तीन राज्यमा बाँडियो। ती राज्यभित्र पनि धेरै दरबारहरू थिए। त्यसैअन्तर्गत, भक्तपुरको मध्यपुर थिमी पनि स्वशासित क्षेत्रका रुपमा थियो जहाँ दरबार छ।
राजाहरूले आफ्नो राज्यमा इष्टदेवताको रुपमा तलेजु बनाएका छन्। त्यही तलेजुलाई कालरात्रिमा महिसाशुरको प्रतीकका रूपमा राँगा बलि दिइन्छ, जसलाई खम्ये् जात्राकाे रूपमा मनाइन्छ।
‘खाँ पिहाँवइगु’ जात्रामा रहेको ‘खा’ भन्ने शब्दले त्यसैलाई इंकित गरेको हुनसक्ने मानन्धर अड्कल गर्छन्।
‘मल्लकालीन दरबारमा एउटा चोक हुन्छ। त्यही काठजस्तो बनाएर तलेजुलाई बलि दिइन्छ। त्यसैलाई नै खा भनेको पनि हुनसक्छ। ठ्याक्कै यही भनेरचाहीँ पुष्टि भएको छैन,’ उनले भने।
तत्कालीन दरबारबाट निकालिएर ‘खाँ पिहाँवइगु’ जात्रा थहनेया (माथिल्लो) टोलको रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया (तल्लो) टोलको रूपमा दथुटोल हुँदै बालकुमारीसम्म परिक्रमा गर्यो।
थिमीको यो जात्रा समावेशी किसिमको छ। विशेषगरी, यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता हुन्छ। युद्ध परेड गर्दै बालकुमारीमा पुगेर कुभिन्डो काटेसँगै जात्रा सम्पन्न गरिएको थियो।
‘कुभिन्डोको टुक्रा लिन मान्छे तँछाडमछाड हुन्छ। त्यो खायो भने रोगव्याधबाट मुक्त हुन्छ भन्ने जनविश्वास छ,’ मानन्धरले भने।
जात्राकाे सांस्कृतिक र ऐतिहासिक पाटोमा अनुसन्धान जरुरी भएको स्थानीय बताउँछन्।