सन् २०१९ को नोबेल पुरस्कार वितरण कार्य जारी छ।
टाइम अखबारका अनुसार नोबेल पुरस्कार विजेताहरूलाई पदक, प्रमाणपत्र र नौ लाख डलर प्रदान गरिनेछ। एक विधामा एक जनाभन्दा बढी विजेता भए उक्त रकम बाँडेर लिनुपर्छ।
हरेक वर्ष अक्टोबरमा घोषणा हुने नोबेल पुरस्कारको यस वर्ष केही विधाका विजेताहरू घोषणा भइसकेका छन् भने केहीको बाँकी छ।
हेर्नुस् क-कसले जिते-
फिजियोलोजी/मेडिसिनः
फिजियोलोजी/मेडिसिनमा यस वर्षको नोबेल पुरस्कार विजेता विलियम जि. केलिन, सर पिटर जे. र्याटक्लिफ र ग्रिग एल सोमेन्जा भएका छन् । उनीहरूले शरीरमा भएको अक्सिजनको विभिन्न प्रतिक्रियामा जीनको क्रियाकलापलाई नियन्त्रित गर्ने आणविक मेसिनरीको पहिचान गरेका नोबेल समितिले जनाएको छ। उनीहरूको कामले एनिमिया, क्यान्सर लगायतका रोगहरूको नियन्त्रण कसरी गर्ने भन्नेमा सिकाइ हुने पनि समितिले बताएको छ।
भौतिक शास्त्रः
२०१९ को भौतिक शास्त्र नोबल पुरस्कारबाट सम्मानित हुनेहरू जेम्स पिब्लेस्, माइकल मेयर र डिडेर क्यवलोज हुन्। पिब्लेस् भौतिक ब्रह्माण्डमा सैद्धान्तिक आविष्कारहरूको शिक्षणमा केन्द्रित भए भने मेयर र क्यवलोजले ब्रह्माण्ड बाहेकका अन्य ग्रहको अध्ययनमा केन्द्रित थिए। नोबेल समितिका अनुसार उनीहरूका खोजका कारण संसारलाई हामीले हेर्ने अवधारणा नै परिवर्तन भएको छ।
रसायन शास्त्रः
रसायन शास्त्रतर्फ २०१९ को नोबेल पुरस्कारबाट जोन वि. गुडइनफ, एम.स्ट्यिाले विटिङहाम र अकिरा योशिन्हो पुरस्कृत भएका छन्। यी तीन वैज्ञानिकहरूले लिथियम–आयन ब्याट्री विकास र विस्तार गरेका हुन्। यसकारण उनीहरूद्वारा वायरलेस, जीवाष्म इन्धनमुक्त समाजको विकास हुने जग बसालेको समितिले जनाएको छ।
साहित्य
यो वर्ष साहित्यतर्फ दुई जनालाई पुरस्कृत गरिएको छ। गत वर्ष यौन उत्पीडन आरोपको बीचमा नै साहित्यको पुरस्कार रद्द गरिएको थियो।
सन् २०१८ का लागि साहित्य विधाको पुरस्कार पोल्यान्डकी उपन्यासकार ओल्गा टोकारजुकले पाएकी छन् भने सन् २०१९ का लागि अस्ट्रियाका पिटर ह्यान्डकेलाई दिइएको छ।
त्यस्तै नोबल शान्ति पुरस्कार अक्टोबर ११, शुक्रबार घोषणा गरिने भएको छ भने आर्थिक विज्ञानतर्फ अक्टोबर १४, सोमबार घोषणा गरिने भएको छ।