गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा केशव पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन्।
एनआरएनएको नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ।
पौडेलले आइतबार पत्रकार सम्मेलन गरी नेपालमा विदेशी लगानी भित्र्याउन प्रोत्साहन गर्न आफूले भूमिका खेल्ने बताए।
‘पारदर्शी र मितव्ययी कार्यक्रम गर्न महासचिवको रूपमा मैले प्रभावकारी भूमिका खेल्नेछु,’ पौडेलले भनेका छन्।
पौडेल एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पूर्वअध्यक्ष हुन्।
विश्व सम्मेलनबाट एनआरएनएको अध्यक्षसहित १२ सदस्यीय कार्यसमिति चयन हुनेछ।
अध्यक्षमा अहिलेका उपाध्यक्षहरू गोरखाका कुमार पन्त र पर्वतका कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्।