धरान उपमहानगरपालिका ९ बाट पेस्तोलसहित प्रहरीले एक जना लागुऔषध कारोबारी युवालाई पक्राउ गरेको छ।
सो वडामा डेरा गरी बस्ने कोसी गाउँपालिका ३ स्थायी घर भएका २३ वर्षीय निरज कुमार राउतलाई हतियार र लागुऔषधसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय धरानका अनुसार उनको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १३ राउण्ड बरामद भएको छ।
यस्तै, लागुऔषध खैरो हेरोइन ७ ग्राम, डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, लागुऔषध तौल गर्ने डिजिटल मेसिन १ थानलगायत बरामद भएको छ।
राउतले लागुऔषध विक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त हातहतियार तथा लागुऔषध फेला पारी पक्राउ गरेको हो।
धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार उनी यसअघि पनि लागुऔषध ओसारपसार र कारोबारमा सक्रिय थिए।
जिल्ला प्रहरी कार्यालय, सुनसरीले राउतलाई २०७२ माघ २२ गते लागुऔषध कोरक्स र नाइट्रोसन ट्याबलेटसहित पक्राउ गरेको थियो। त्यसबेला राउत धरौटीमा छुटेका थिए।
सुनसरीबाटै २०७४ असोज ७ गते राउतको साथबाट लागूऔषध स्पास्मो प्रोक्सिभन प्लससहित बरामद भएको थियो। सो मुद्दामा उनी १८ महिना कैदमा बसेर छुटेका थिए।
राउतलाई हातहतियार तथा खरखजना र लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान थालिएको डिएसपी न्यौपानेले बताए।