नो ब्रा अभियान चलाएकी २५ वर्षिया कोरियाली पप (के–पप) गायिका तथा कलाकार सुल्ली मृत फेला परेकी छिन्।
सोमबार उनकी म्यानजरले उनलाई आफ्नो घरमै मृत अवस्थामा फेला पारेका थिए। पप गायिका सुल्लीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले बिबिसिलाई बताएको छ।
उनी एफ (एक्स) ब्याण्डकी पूर्व गायिका समेत थिइन्। सुल्लीको वास्तविक नाम भने चोई जिनरी हो।
सन् २०१५ मा उनले के–पपको कामलाई विश्राम दिई कलाकारका रुपमा नयाँ करियर शुरुवात गरेकी हुन्। उनी दक्षिण कोरियाको ‘नो ब्रा’ की अभियान्ता समेत थिइन्।
आफ्नो शरीरलाई कसरी प्रदर्शन गर्ने भन्ने स्वतन्त्रता आफैसँग हुने भन्दै आएकी उनले सन् २०१६मा इन्स्टाग्राममा पहिलो पटक आफ्नो निप्पलको प्रदर्शन गरेकी थिइन्। जसकारण उनलाई धेरैले गाली समेत गरेका थिए।
गत महिना मात्रै त्यस्तै एक घटना उनी लाइभ आउँदै गर्दा भएपछि उनी फेरी विवादमा तानिएकी थिइन्। उनका इन्स्टाग्राम अकाउन्टमा ५० लाख फलोअर्स छन्।