चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एमबिबिएस र बिडिएसको अध्यापन शुल्क बढाएको छ।
आयोगले बिहीबार एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गर्दै अगाडिको शुल्कमा थप शुल्क थपेको हो।
नयाँ शुल्कअनुसार एमबिबिएस पढ्न करिब दुई लाख रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ। बिडिएसमा पनि करिब एक लाख बढी शुल्क तिर्नुपर्ने हुन्छ। निर्णयअनुसार आयोगले उपत्यकाका मेडिकल कलेजमा एमबिबिएसमा ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ।
बिडिएसतर्फ उपत्यकामा २० लाख १९ हजार ५ सय ८० रुपैयाँ र उपत्यका बाहिर २० लाख १९ हजार ५ सय ८० रुपैयाँ लाख रुपैयाँ तोकिएको छ। सरकारले शैक्षिक सत्र २०७५/०७६ मा उपत्यकामा एमबिबिएस ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ, बिडिएस उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ निर्धारण गरेको थियो।
आयोगले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रास्फितिका आधारमा नयाँ शुल्क कायम गरिएकाले केही बढेको दाबी गरेको छ।
‘शुल्क निर्धारण समितिको सिफारिसअनुसार मुद्रास्फितिका आधारमा शुल्क बढेको हो,’ आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले सेतोपाटीसँग भने।
उनले आगामी वर्ष २०७७/०७८ का लागि सिट संख्या र शुल्क निर्धारण गर्न चिकित्सा शिक्षा आयोगले विज्ञ टोली गठन गरी शुल्कमा हेरफेर गर्ने जनाए। चिकित्सा शिक्षामा विगतमै कायम भएको शुल्कमा पनि गुनासो छ।
मेडिकल कलेजहरूले तोकिएभन्दा बढी शुल्क उठाउन थालेपछि विद्यार्थीहरूले आन्दोलन नै गर्दै आएका छन्।
चिकित्सा शिक्षाको स्नातक कार्यक्रममा शुल्क घटाउँदै जानुपर्ने अभियन्ताहरूको सुझाव छ।
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग विगतमा भएको सम्झौता र चिकित्सा शिक्षा ऐनकै भावना पनि चिकित्सा शिक्षामा क्रमश: शुल्क घटाउँदै जानपर्छ भन्ने हो।