चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरुप्रति आपत्ति जनाउँदै डा. गोविन्द केसीले फेरि अनसन थाल्ने भएका छन्। चिकित्सा शिक्षा आयोगले पूर्णता नपाउँदै हतार हतार एमबिबिएस र बिडिएस कार्यक्रमको शुल्क बढाउने निर्णय भएको भन्दै उनले १३ गतेबाट सत्याग्रह थाल्ने बताएका हुन्।
त्यस्तै नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन्धी आयोगले निर्णय गर्न छाडेर सिटिइभिटीलाई सुम्पिनुले सुधार र नियमनकै मर्ममा प्रहार भएको केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नर्सिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुने गरी निर्णय भएको भन्दै उनले विरोध जनाएका छन्।
तत्काल यी निर्णय खारेज गरी आयोगको अधिकार पुर्नस्थापित गर्न उनले माग गरेका छन्। जनशक्तिको आवश्यकता र हाल चलिरहेका नर्सिङ कलेजको अवस्थाबारे बृहत् अध्ययन नगरी थप कलेजलाई सम्बन्धन नदिन केसीले ध्यानाकर्षण गराएका छन्।
‘आयोग बनिसकेको अवस्थामा शुल्क निर्धारणका वैज्ञानिक पक्षहरुबारे अध्ययन नगरी शुल्क बढाइनु हुँदैन’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आयोगले निर्णय गर्दा व्यवसायीहरुको मात्रै हित नहेरी विद्यार्थी तथा अभिभावकहरुको हितलाई प्राथमिकता दिनुपर्छ।’ आगामी शैक्षिक सत्रमा पछिल्लो वर्षको भन्दा नबढाइकन शुल्क कायम गर्न उनले माग गरेका छन्।
छ बुँदे मागसहित सरकारलाई अल्टिमेटम दिए पनि बेवास्ता गरिएको उनको भनाइ छ।