काष्ठमण्डप पुनर्निर्माणमा पुरातात्विक सामग्री प्रयोग, परम्परागत प्रविधि र परम्परागत शैलीलाई प्राथमिकता दिइएको सरोकारवालाहरूले बताएका छन्।
काष्ठमण्डपको कार्य प्रगति, आर्थिक विवरण र अगामी कार्य योजनाबारे सर्वसाधारणलाई जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा उक्त कुरा बताइएको हो।
कार्यक्रममा पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, विज्ञ समितिका सदस्य सुदर्शनराज तिवारी, हनुमानढोका हेरचाह अड्डाकी अरुणा नकर्मी लगायत उपस्थित थिए।
गत वैशाखबाट काष्ठमण्डप पुनर्निर्माण समिति गठन गरेर भुइँचालोमा भत्किएको काष्ठमण्डप पुनर्निर्माण थालिएको हो। समितिका अनुसार गत वर्ष छुट्टाइएको कुल ५ करोड ६० लाख रूपैयाँ करिब ३ करोड २० लाख खर्च भइसकेको छ।
अध्यक्ष शाक्यका अनुसार काष्ठमण्डप निर्माण गर्दा छुट्टै नियमावली बनाएर काम सुरू गरिएको थियो। त्यो बीचमा यसको भू–बनावट, संरचनादेखि निर्माणको कालखण्ड लगायत अध्ययन र उत्खनन गर्दा प्राप्त भएका सामग्रीको रिपोर्ट बनाइएको उनले जानकारी दिए।
‘हामीले इँटा, माटो, काठ लगायत स–साना कुरा पनि परीक्षण गरेर निर्माण सुरु गरेका थियौं,’ उनले भने।
काष्ठमण्डपमा मंसिर २७ गते चारवटा थाम ठ्डयाइएको थियो। विवरणका अनुसार सिकर्मी समूहबाट मेथ र निदाल, बुट्टा भएको झ्याल, थाम लगायत बनाउने काम समानान्तर रूपमा भइरहेको छ।
विज्ञ समितिका सदस्य तिवारीले ‘इँट्टा बोक्ने, थाम ठड्याउने लगायतका कामसमेत आधुनिक सामग्री प्रयोग नगरी पुरानै तरिकाबाट गरेको’ बताए।
‘यहाँको जगमा भएको माटो प्राविधिक हिसाबमा निकै गुणस्तरीय भएकाले त्यसैलाई छानेर प्रयोग गरेका छौं, इँटा पनि त्यसै शैलीमा निर्माण गरेका छौं,’ उनले भने।
उनका अनुसार उत्खनन क्रममा काष्ठमण्डपको थाममा तामाको प्रयोग भएको फेला परेको थियो। तामाको प्रयोगले काठलाई लामो समय सुरक्षित राख्ने भएकाले पुनर्निर्माणमा पनि त्यसलाई प्राथमिकता दिइएको छ।
काष्ठमण्डपमा पाचौं शताब्दीको काठ, १०औंदेखि १२औं शताब्दीका केही अन्य काठ र १० औं शताब्दीको थाम भेटिएको थियो। बाहिरी थामहरूको भने अध्ययन भइरहेको तिवारीले बताए।
‘काष्ठमण्डप पुनर्निर्माण हामीलाई सातौं शताब्दीमा यो कसरी बनेको होला भनेर सिकाइ पनि भएको छ,’ उनले भने, ‘परम्परागत प्रक्रिया अपनाउँदा राम्रो हो भन्ने हामीले सिक्यौं। हामीले पहिलेको हिसाबमा अझ भूकम्प प्रतिरोधात्मक बनाउने प्रयास गरेका छौं।’
हनुमानढोका हेरचाह अड्डाकी नकर्मीले पुरातात्विक प्रविधि गलत नभएको र काष्ठमाण्डप लगायतका सम्पदा त्यही शैलीमा निर्माण भएकोमा खुसी व्यक्त गरिन्।