पशुपति आर्यघाटमा शव जलाउने कामदारहरूले आन्दोलन गरेका छन्।
विभिन्न मागहरू राखेर घाट सेवा केन्द्रका कर्मचारीले बुधबार बिहान ६ बजेदेखि शव जलाउने, दाउरा बोक्ने, खाडक खन्नेलगायत काम ठप्प पारेका हुन्। माग पूरा नभएसम्म अनिश्चितकालका लागि आन्दोलन गरिएको सूचना कामदारले टाँसेका छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले आन्दोलनरत कर्मचारीसँग वार्ता चलिराखेको जानकारी दिए।
‘अहिले हामी वार्तामै छौं,’ ढकालले सेतोपाटीसँग भने, ‘सहमति जुटाउने प्रयास भइराखेको छ।’
सेवा, सुविधालगायत विभिन्न माग राखेर आन्दोलन भइराखेको हो।