खुलामञ्चस्थित दुईमाजु मन्दिर परिसर अतिक्रमण गरी खोलिएका पसलहरू तिहारपछि हटाइने भएको छ।
सर्वसाधारण तथा टुँडिखेल सरंक्षण अभियन्ताहरूको लगातार विरोधपछि गुठी संस्थानले ती पसल हटाउन बुधबार आदेश गरेको हो। दुईमाजु गुठीसँग गरिएका सम्झौतामा पसल खोल्न दिनेबारे उल्लेख नभएको संस्थानका कार्यकारी प्रमुख नारायण चौधरीले बताए।
‘हामीले गुठीलाई त्यो ठाउँ उपयोग गर्न दिँदा त्यहाँ पसल राख्ने कुरै भएको थिएन। बीचमा हटेको पनि थियो, पछि आफैं कसरी खुल्यो थाहा भएन,’ चौधरीले भने, ‘आजै पसल हटाउन आदेश दिनेछौं।’
टुँडिखेल अतिक्रमणविरूद्ध सार्वजनिक अभियानअन्तर्गत पहिलो चरणमा दुईमाजु मन्दिर परिसर खाली गराउन अभियन्ताहरू सक्रिय थिए। यही अिभयान क्रममा तिहारपछि 'अकुपाई टुँडिखेल' नामक कार्यक्रम सञ्चालन हुँदैछ। वर्षौंदेखि टुँडिखेल मिचेर बसेको सेना र खुलामञ्च मासेर बसपार्क चलाएको काठमाडौं महानगरपालिकालाई अतिक्रमण छाड्न शान्तिपूर्ण दबाब दिइनेछ।
दुईमाजु परिसर खाली गराउने प्रयास त्यसैको पहिलो कडी हो।
यस निम्ति बुधबार बिहानै संरक्षण अभियन्ताहरू गुठी संस्थान गएका थिए। महानगरकी उपमेयर हरिप्रभा खड्गी सँगै थिइन्। त्यसअघि उनीहरूले दुईमाजुअगाडि उभिएर शान्तिपूर्ण विरोध गरे। पसलेहरूले पनि छुट्टै ब्यानर बोकेर पसल खोल्न पाउनुपर्ने अडान लिएका थिए।
पसलेहरूले आफू आएपछि दुईमाजु परिसर सरसफाइ र संरक्षण भएको दाबी गरेका छन्। त्यहीँ पसल चलाउँदै आएका भानु बास्तोलाका अनुसार उनीहरू आउनुअिघ त्यो क्षेत्र फोहोर फालिने ठाउँमा परिणत भएको थियो।
‘हामीले मन्दिरलाई बाधा पुग्ने केही गरेका छैनौं, उल्टै संरक्षण गरेका छौं,’ उनले भने, ‘त्यसमाथि हामीले स्वीकृति नै लिएर पसल खोलेका हौं।’
गुठी संस्थानले अमृता भट्टराई भन्ने व्यक्तिलाई महिनाको १५ हजार रूपैयाँमा मन्दिर परिसर भाडामा दिएको थियो। भट्टराईले सम्झौताविपरीत पसलहरू भाडामा लगाएकी थिइन्। प्रत्येक पसलसँग महिनाको पाँच हजार उठाउँदै आएको बास्तोला बताउँछन्।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले व्यापारीलाई असर पुर्याउने मनसायभन्दा सम्बन्धित निकायमा बसेकालाई यो ठाउँको महत्व बुझाउन खोजेको बताए।
‘यो ठाउँ ठूलो शक्तिपीठ हो, राजासमेत यहाँ शक्ति लिन आउँथे। अहिले पनि यहाँबाट विभिन्न जात्रा सञ्चालन हुँदै आएका छन्। त्यसैले यहाँको अस्थायी संरचना सधैंका लागि हट्नुपर्छ,’ उनले भने।
उपमेयर खड्गीले खुलामञ्च खुलै रहनुपर्नेमा जोड दिएकी छन्। ‘पहिले जनप्रतिनिधि नहुँदा यो ठाउँ व्यवस्थित हुन नसकेर फोहोर भएको थियो,’ उनले भनिन्, ‘अब मन्दिरको सरसफाइ जिम्मा हामी लिन्छौं। तिहारसम्म जसरी पनि पसल हट्नेछ।’
काठमाडौं महानगरपालिकाले भ्यू टावरसहितको बहुउद्देश्यीय भवन बनाउने निर्णय गरेपछि पुरानो बसपार्क खुलामञ्च सरेको थियाे। त्यसपछि सुरू अतिक्रमण सिलसिला जारी छ।