मेडिकल कलेजले असुलेको बढी शुल्क फिर्ता नभएपछि एमबिबिएस अध्ययनरत विद्यार्थीले परीक्षा सार्नुपर्ने माग राखेका छन्।
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा बुधबार पत्र बुझाउँदै एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीले परीक्षा सार्न माग गरेका हुन्।
एमबिबिएस पहिलो वर्षको कात्तिक २१ र दोस्रो वर्षको मंसिर १३ गते परीक्षा हुँदैछ। शुल्क समायोजन र तिराइएको बढी शुल्क फिर्ता नभएसम्म आन्दोलन चलिरहने हुनाले परीक्षा सार्न माग गर्दै विद्यार्थीले आइओएममा निवेदन दिएका हुन्।
चितवन, जानकी, युनिभर्सल, गण्डकी र नेसनल मेडिकल कलेजका अधिकांश विद्यार्थीले आइओएममा निवेदन बुझाएका थिए।
असुलिएको शुल्क फिर्ता तथा परीक्षा सार्न माग गर्दै आइओएम पुगेका विद्यार्थीलाई डिन जगदीश अग्रवालले भेट दिएनन्।
आइओएम डिन अग्रवाल भने शुल्क फिर्ता र परीक्षा सार्न माग गर्दै आएका विद्यार्थीलाई भेट नदिइ मोबाइल अफ गरेर बसेका छन्।
‘अहिले समय छैन भन्दै डिन कार्यालयले अग्रवाल सरलाई भेट्न दिएन,’ चितवन मेडिकल कलेजकी विद्यार्थी मान्यता थापाले भनिन्, ‘हामी निवेदन दर्ता गरेर फर्कियौं।’
उनका अनुसार परीक्षा दिइसकेपछि एक महिना बिदा दिने गरिएको छ। त्यो बिदा कटौती गरी एक महिना पछाडि परीक्षा सार्न अनुरोध गरिएको हो।
एमबिबिएस पहिलो वर्षमा १२ लाख ५० हजार र दोस्रो वर्षमा मेडिकल कलेजहरूले १२ लाख रुपैयाँ बढी शुल्क मागेका छन्। दोस्रो वर्षका विद्यार्थीले ६ लाख ५० हजार दिइसकेका छन्। तेस्रो वर्षमा १५ देखि १८ लाख रुपैयाँसम्म बढी पैसा उठाएको विद्यार्थीहरूको भनाइ छ।
बढी शुल्क उठाएपछि अधिकांश मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन्। आन्दोलनका कारण एक महिनाभन्दा बढी समयको पढाइ रोकिएकाले परीक्षाको तयारी पर्याप्त गर्न नसकिएको विद्यार्थीको भनाइ छ।