केही दिनदेखि सामाजिक सञ्जालमा धुवाँको चर्चा छ।
एकान्तकुना, पाटन, नख्खिपोट, बानेश्वर र भक्तपुरमा धुँवाको गन्धले सास फेर्नसमेत अप्ठेरो हुने गरेको भन्दै फेसबुक र ट्वीटरमा धुवाँ चर्चाले ठाउँ पाएको छ।
यस्तो धुवाँको गन्ध प्राय: राति आउने स्थानीयले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्। उनीहरूले यो केको धुवाँ फैलिराखेको? खोजी गर्न प्रहरीलाई पनि आग्रह गरे।
धेरैले अनुमान पनि लगाए, यो त भारतबाट आएको धुवाँ हुनुपर्छ। शव जलाउँदा आउने गन्धजस्तो पनि छ भन्ने अड्कलबाजी भए। कतिपयले भने यस्तो धुवाँ र गन्धको महशुस गरेनन्, वाहियात हल्ला ठाने।
स्थानीयको आग्रहपछि सातदोबाटोस्थित प्रहरी वृत्तले धुवाँको कारण खोज्यो। मानिसहरूले अनुमान गरेजस्तो त्यो धुवाँ भारतबाट आएको होइन रहेछ। न त शव नै जलाएको।
के को धुवाँ हो त?
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले सेतोपाटीलाई दिएको जानकारी अनुसार बधशालाबाट ल्याएका हड्डी र छाला जलाएको धुवाँ फैलिएको हो।
‘भैंसी र राँगाका हड्डी तथा छाला जलाइराखेको अवस्थामा नख्खु खोलाबाट तीन जनालाई सोमबार पक्राउ गरिएको छ,’ उनले भने, ‘दुई जना भारतीय र एक जना नेपाली रहेछन्।’
भारतको दिल्ली घर भई अहिले सुनाकोठी बस्ने २८ वर्षीय शाजिद मुस्लिम, १९ वर्षका फेसल मुस्लिम र ४८ वर्षीय राजेश शेर्पा पक्राउ परेको मिश्रले बताए। सामान्य सोधपुछपछि उनीहरूलाई ललितपुर महानगरपालिकामा पठाइएको छ।
‘स्थानीय तहको क्षेत्राधिकार पर्ने भएकोले महानगरलाई बुझाइएको छ,’ उनले भने।
उनीहरूले हाडखुर जलाएर मलका लागि प्रयोग गर्ने गरेको प्रहरीसमक्ष बताएका थिए।
ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले पक्राउ परेका तीनै जनालाई कारबाही हुने बताए।
‘उनीहरूसँग थप बुझेर कानुनअनुसार कारबाही गर्छौं,’ उनले भने।