टुँडिखेललाई अतिक्रमणमुक्त गर्न संरक्षणकर्मी अभियन्ताहरूले आह्वान गरेका छन्। कात्तिक २३ गते शनिबार विश्व स्वतन्त्रता दिवसको अवसर पारेर बिहान ८ बजे भेला भई मानव साङ्लो बनाउन उनीहरूले आह्वान गरेका हुन्।
मध्यसहरको यो खुला स्थलमा हराभरा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको महत्व बुझाउने उद्देश्यले संरक्षणकर्मी अभियन्ताहरूले यो कार्यक्रम गर्न लागेका हुन्।
काठमाडौं सहरको मुटुमै रहेको टुँडिखेल सबैको चासोको विषय भएकाले सबैलाई सहभागी हुन प्रदेश ६ का सांसद भिमसेन दास प्रधानले जोड दिएका छन्। यो सार्वजनिक स्थल अस्तव्यस्त संरचना र धूलोधुँवा परिणत हुँदै गएको उनी बताउँछन्।
‘यो राजनैतिक, ऐतिहासिक र वातावरणीय सबै हिसाबले महत्वपूर्ण छ। भुइँचालोमा यसको महत्व कति थियो भन्ने हामीले झन् नजिकबाट नियाल्न पायौं। यस्तो महत्वपूर्ण स्थललाई पुनर्जिवन दिने यो सबैका लागि सुनौलो अवसर हो,’ उनले भने, ‘काठमाडौंलाई घरैघर, टावरैटावरको जंगलमा परिणत गर्ने कि बस्न योग्य सहर बनाउने अब त्यो हाम्रो जिम्मा।’
शनिबार बिहान ८ देखि १० बजेसम्म टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर ‘मुक्त टुँडिखेल’ गर्ने अभियान छ। मानव साङ्लोनिम्ति स्थानीय सांस्कृतिक खलः, स्पोर्टस् क्लब लगायत विभिन्न संघ–संस्थालाई सरिक गराउने निर्णय भएको छ। त्यसका साथै, टुँडिखेलको महत्व बुझेर यो अभियानमा सरिक हुन चाहने जो सुकै मानव साङ्लोमा हात बढाउन सक्नेछन्। यो कार्य निरन्तर तीन महिना हरेक शनिबार सो क्षेत्रको महत्व प्रतिबिम्बित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै हुनेछ।
अभियानमा कुनै शनिबार टुँडिखेलसँग सम्बन्धित पुराना तस्बिरहरू प्रदर्शन गरिनेछन् भने कुनै शनिबार चित्रकारलाई निम्ता गरेर आफूले परिकल्पना गरेको खुला टुँडिखेलको पेन्टिङ प्रदर्शन गर्न आह्वान गरिनेछ।
त्यस्तै, कुनै शनिबार कविहरूलाई टुँडिखेल र काठमाडौं सभ्यतामाथि केन्द्रित रहेर कविता वाचन गर्न लगाइनेछ। कहिले नाट्य समूह डाकेर सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सडक नाटक प्रदर्शन गर्न आग्रह गरिनेछ।
प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठका अनुसार नागरिकले अहिले यो अभियानमा सहकार्य नगर्ने हो भने पछि पछुताउनुको कुनै तुक हुँदैन।
‘हामी आफ्नो घरको दुई इन्च मिचिँदा पनि झैझगडा गर्छौं। यहाँ हाम्रो यत्रो ठूलो सार्वजनिक स्थल अतिक्रमणमा पर्दा हामी बोलेनौं भने भविष्यमा हामीले पछुताएर पनि केही हुन्न, त्यो बेला हामीले केही भन्न पाउँदैनौं,’ उनले भने।
संरक्षण अभियन्ता एवं कानुनका विधार्थी सञ्जय अधिकारीले टुँडिखेल सरकारी जग्गा नभई सार्वजनिक जग्गा भएको प्रस्ट्याए। सरकारी जग्गामा सरकारले चाहेअनुसार संरचना निर्माण गर्न पाउँछन्। जनताले औंल्याउने बाटो रहन्न। टुँडिखेल भने सार्वजनिक जग्गा भएकाले संरक्षण गर्ने जिम्मा हामी सबै रहेको उनी बताउँछन्।
‘धारा ४८ ले नै हामीलाई सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व दिएको छ,’ उनले भने, ‘शनिबार नआउने हो भने हामीले त्यो दायित्व गुमाउँछौं।’
‘मुक्त टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठका अनुसार टुँडिखेललाई ३ प्रक्रियामा मुक्त गराउने लक्ष्य छ – तत्कालीन, अल्पकालीन र दीर्घकालीन।
‘तत्कालीन हामी टुँडिखेलको फोहोर, पार्किङ र अबैधानिक घर टहरा हटाउने तयारी गर्दैछौं। त्यसैगरी, अल्पकालीनमा टुँडिखेलमा रुख रोप्ने साथै संरक्षण गर्ने कार्य हुनेछ भने दीर्घकालीन कार्यमा रानीपोखरीदेखि दशरथ रंगशालासम्मको क्षेत्र स्वतन्त्र बनाउने रहेको छ,’ उनले भने।
टुँडिखेल भनेको काठमाडौंको परम्परागत खुला चउर हो। उपत्यकाका पुराना बस्तीको बाहिरी घेरामा सबैतिर यस्तै फराकिला चउर छन्। जस्तो– पाटनको लगनखेल र जावलाखेल, भक्तपुरको सैनिक स्कुल मैदान, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय मैदान र काठमाडौंको टुँडिखेल।
यी सबै किराँतकालदेखिका चरनक्षेत्र हुन्, जुन समयक्रममा मिचिए। मिचिएका सबै चउर पुरानै स्वरुपमा फर्काउन सम्भव छैन। टुँडिखेललाई भने सरकारी स्तरबाट भएका अतिक्रमण हटाउने हो भने सार्वजनिक पार्कमा परिणत गर्न सकिन्छ।
सन् १८५० दशकमा प्रकाशित ‘स्केचेज अफ नेपाल’ किताबअनुसार टुँडिखेल उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशाला भएको ठाउँसम्म फैलिएको थियो। लेखक हेनरी एम्ब्रोस ओल्डफिल्डले यसलाई ‘एसियाकै ठूलो परेड मैदान’ भनेका छन्।
टुँडिखेलको लगभग आधा हिस्सामा अहिले सैनिक शासन चल्छ। यहाँ सेनाको हेडक्वार्टर छ। खेल मैदान छ। त्यतिले नपुगेर सेनाले मनोरञ्जन निम्ति ‘आर्मी अफिसर्स क्लब’ बनाएको छ। त्यसैलाई भाडामा लगाएर कमाइ गर्छ। सयौंलाई भोज खुवाउन मिल्ने दुइटा पार्टी प्यालेस छन्।
टुँडिखेल मिच्नेमा सेना मात्र छैन। रत्नपार्क र सैनिक मञ्चबीचको खुलामञ्चमा काठमाडौं महानगरपालिकाले पार्किङ स्थल बनाएको छ। केही वर्षअघिसम्म यहाँ राजनीतिक दलका आमसभा हुन्थे। कार्यक्रम नहुँदा सर्वसाधारण सुस्ताउन आइपुग्थे। महानगरले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि यो मञ्चलाई पार्किङ स्थलमा परिणत गरेको हो।
खुलामञ्चमा अचेल राजनीतिक नाराबाजी होइन, सार्वजनिक बसको कोलाहल सुनिन्छ। अस्थायी पार्किङ भनिए पनि केही समयअघि महानगरले भुइँ ढलान गर्दा सर्वसाधारण विरोधमा ओर्लिएका थिए।
‘मुक्त टुँडिखेल अभियानको उद्देश्य यी सबै किसिमका अतिक्रमण हटाएर यो चउरलाई पुरानै स्वरुपमा फर्काउनु हो,’ संरक्षण अभियन्ता आलोक तुलाधरले भने, ‘हामो पुर्खाको नासो बिना राेकटाेक हामीले प्रयाेग गर्न पाउनुपर्छ।’