उच्च अदालत पाटनले एटिएम ह्याक प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकलाई थुन्न र ३ नेपालीलाई धरौटीमा छोड्ने आदेश गरेको छ।
न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई थुनामा राख्न आदेश गरेको हो। त्यस्तै नेपालीहरु देवनाथ लामिछाने, रेवती दुवाडी र रोशन प्रधानलाई धरौटीमा छोड्न आदेश गरेको छ।
लामिछानेसँग ३० लाख धरौटी, दुवाडी र प्रधानसँग २६/२६ लाख धरौटी माग गर्न उक्त इजलासले आदेश गरेको छ।
लामिछाने डेक्सो मनी एक्सेन्जका सञ्चालक हुन् भने प्रधान र दुवाडी नेपालय मनी एक्सेन्जका सञ्चालक तथा म्यानेजर हुन्।
भदौमा एटिएम प्रणाली ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक र उनीहरूको पैसा साट्ने तीन नेपाली नागरिकलाई पटकपटक गरी प्रहरीले पक्राउ गरेको थियो।
उनीहरुले नबिल, प्रभु र हिमालयन बैंकको एटिएम ह्याक गरी पैसा निकालेका थिए। पक्राउ परेका पाँच चिनियाँ नागरिकबाट ९ हजार १०८ अमेरिकी डलर, चिनियाँ युआन ११ सय ९१, युरो २५०, क्याम्बोडिएन मुद्रा पाँच हजार र हङकङ डलर ८० पनि बरामद भएको थियो।
लामिछाने, प्रधान र दुवाडीलाई पक्राउ गर्दा उनीहरूले चिनियाँबाट लिएको २९ लाख ९९ हजार रुपैयाँ बरामद गरेको थियो।
प्रहरीले ८ चिनियाँ नागरिक र ४ नेपालीविरुद्ध एटिएम ह्याक गरी पैसा चोरेको भन्दै बैकिङ कसुरमा मुद्दा लगाएको थियो। मुद्दा लगाइएकामध्ये दुई चिनियाँ र एक नेपाली फरार छन्। उनीहरुलाई पक्राउ गर्न उच्च अदालतले वारेन्ट जारी गरेको छ।