सैनिक अदालतले भगौडा अभियोगमा एक सेनानी (मेजर)लाई ६ महिना कैद र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सजाय तोकेको छ।
नेपाली सेनाको प्राविधिक पदमा कार्यरत सेनानी रामचन्द्र तिवारीलाई असोज ५ गते पक्राउ गरी सैनिक ऐन २०६३ बमोजिम कारबाही गरिएको जंगी अड्डाले जनाएको छ।
जापानमा दुई वर्ष अवधिको पोस्ट डक्टोरल तहमा अध्ययन गर्न बेतलबी बिदा गएका तिवारी तालिमपछि २०७५ चैत १२ गते हाजिर हुनुपर्नेमा नभई भागेको सेनाको दाबी छ।
सेनानी तिवारीले नेपाली सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसकेपछि पनि आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको भनी सैनिक संस्थालाई आरोप लगाई नेपाली सेनामा कार्यरत रहेको अवस्थामा नै थापाथली इन्जिनियरिङ क्याम्पसमा विभागीय स्वीकृति नलिई कार्य गरेको जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतले दाबी गरेको छ।
‘व्यक्तिगत रुपमा आर्थिक फाइदा हुने गरी पार्ट टाइम कार्य गर्नुको साथै मिति २०७५ कात्तिक २५ गतेबाट उक्त क्याम्पसमा प्राध्यापकको पदमा स्थायी नियुक्ती लिई ‘भगौडा र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ भनी दोषी ठहर गरिएको छ,’ सेनाले सोमबार विज्ञप्ति जारी गरी भनेको छ।
सोही बमोजिम अदालतले कात्तिक २५ गते उनलाई सैनिक ऐन २०६३ को दफा ४२ को उपदफा (१) को खण्ड (ख) दफा ५२ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहर्याएको विज्ञप्तिमा जनाइएको छ। पक्राउ परेको मितिबाट लागू हुने गरी उनलाई कैद तोकिएको जंगी अड्डाले जनाएको छ।
नेपाली सेनामा पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरी राम्रो काम गर्नेलाई पुरस्कारमार्फत प्रोत्साहन गर्ने तथा गल्ती गर्नेलाई नियम बमोजिम कडा कारबाही गर्ने नीति अख्तियार गर्दै आएको जंगी अड्डाले जनाएको छ। ‘विशेषतः सैनिक सेवाबाट आफूखुसी भगौडा भएका जोकोही सैनिक व्यक्तिलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐन बमोजिम कारबाही गरिने छ,’ विज्ञप्तिमा भनिएको छ।