भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदुषित रहेको छ।
सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदुषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।
वायु गुणस्तर तथा मौसम पुर्वानुमान र अध्ययन विभागका अधिकारीहरुले एयर क्वालिटि इन्डेक्स (एक्युआई) ३४२ रहेको जानकारी दिएका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषणको स्थितिमा दिल्ली, पंजाब र हरियाणा सरकारका सम्बन्धित अधिकारीसँग बैठक पनि गर्नुभएको थियो। बैठकले प्रदुषणको स्थितिमा लगातार निगरानी राख्ने निर्णय गरेको थियो।
प्रदुषण न्युनिकरणका लागि दिल्लीका विद्यालयहरु बन्द गर्ने घोषणा गरिएको थियो। प्रदुषण न्युनिकरणकै अर्को उपायका रुपमा अघिल्लो सोमबारदेखि दिल्लीमा सवारी साधनका लागि जोरविजोर प्रणाली लागु गरिएको छ।
जसअनुसार जोरबार जोर नम्बर भएका सवारी साधन र विजोर बार विजोर नम्बर भएका सवारी साधन चल्न दिने व्यवस्था गरिएको थियो। यो नियम चार पाङ्ग्रे निजी सवारी साधनका लागी बाध्यकारी हुनेछ तर सार्वजनिक यातायातका साधन, एम्बुलेन्स, खानेपानी तथा अतिआवश्यक दैनिक उपभोगका सामान ढुवानी गर्ने गाडीका लागी नियम बाध्यकारी नहुने बताइएको छ।
जोर विजोर प्रणाली यही १५ नोभेम्बरसम्म लागु हुने अधिकारीहरुले जानकारी दिएका छन्।