दरबारमार्ग क्षेत्रका ‘क्यासिनो किङ’ भनेर चिनिने गुन्डा नाइके बलराम सापकोटा ‘बले’सहित २५ जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ।
जुवा ऐनमा मुद्दा चलाइएका बलेसहित २५ जना ‘हाइप्रोफाइल’ जुवाडे सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा छुटेका थिए।
सोमबार प्रहरीकै हिरासतमै राख्न लगाएर विभागले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बलेसहित २५ जनालाई नै महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट विभागले आफ्नो कार्यालयमा लगेको छ।
विभाग स्रोतका अनुसार उनीहरूले जुवा खेल्दा अस्वाभाविक सम्पत्ति देखिएकोले त्यसको स्रोतको अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो।
‘अनुसन्धान र बयान नसकिँदासम्म उनीहरूलाई विभागले हिरासतमै राख्न सक्छ,’ विभागका एक अधिकारीले सेतोपाटीसँग भने।
महाराजगन्ज वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बलेसहित २५ जनालाई विभागको जिम्मा लगाइएको बताए।
‘विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चिठी लेखेको थियो, छुटेलगत्तै विभागमा बुझाउन भनिएको थियो,’ लम्सालले भने, ‘सोमबार समय अबेर भएका कारण आज बुझाइएको हो।’
विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार अब उनीहरूलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिन्छ।
यसरी बुझाइएकामा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा, नवाङ लामालगायत छन्।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले ‘बले’सहित २५ जनाको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोकिसकेको र काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट छुट्नेबित्तिकै उनीहरूलाई नियन्त्रणमा लिएर बयान थालिने यसअघि नै सेतोपाटीलाई बताएका थिए।
‘जुवा अखडामा अस्वभाविक रुपैयाँ कारोबार भएको र त्यसको सम्पत्तिको स्रोत खुल्न नसकेकाले छानबिन गर्न भनी महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पत्र लेखेसँगै अनुसन्धान अधिकृत तोकिएको हो,’ भट्टराईले भनेका थिए।
नारायण गोपाल चोकको साम्बाला होटल पछाडि रहेको विक्रम गौतमको घरमा जुवा खेलिरहेका बलेसहित २५ जना जुवाडेलाई प्रहरीले दुई करोड ६७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट ३ लाख बराबरको चेक पनि बरामद गरेको थियो।
नेकपा नेतानिकट मानिने सापकोटा दरबारमार्ग क्षेत्रमा ‘क्यासिनो किङ’ले चिनिन्छन्।
उनी चक्रवर्ती ‘मिटरब्याज’मा क्यासिनोमा लगानी गर्ने गर्छन्।
उनको भारत, नेपाल र श्रीलंकामा क्यासिनो रहेको प्रहरी स्रोत बताउँछ।