सुनसरीको कोसी गाउँपालिका ४ मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक घाइते भएका छन्।
बिहान साढे ९ बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको स१झ २६८ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको को३०प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पृथ्वीनगर नगरपालिका ४ का २९ वर्षीय दिपेश मुखिया सुनुवारको मृत्यु भएको हो।
ठक्करले गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दमक नगरपालिका १० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगर अस्पतालमा उपचार भइरहेको छ।