सल्यानको लुहाममा जिल्लाकै पहिलो वृद्धाश्रम भवन निर्माण भएको छ। त्रिवेणी गाउँपालिकाले २० लाख लगानी गरेर लुहाममा जिल्लाको पहिलो वृद्धाश्रम निर्माण गरेको हो।
गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले महिला र पुरुषका लागि छुट्टा–छुट्टै दुईवटा कोठायुक्त भवन निर्माण गरिएको जनाकारी दिए। आश्रमको एउटा कोठामा कम्तिमा पनि १० जना बस्न मिल्ने उनले बताए। वृद्धाश्रममा जेष्ठ नागरिकको सुविधाको लागि आधुनिक शौचालय समेत निर्माण गरिएको उनले बताए।
यो वृद्धाश्रमलाई आगामी फागुनदेखि सञ्चालनमा आउने तयारी भएको उनले बताए। वृद्धाश्रम सञ्चालनको जिम्मा लुहामस्थित त्रिवेणी तिर्थशाला धाम सञ्चालक समितिलाई दिने सहमति भइसकेको छ।
अब छिट्टै जेष्ठ नागरिक समाज पनि गठन गर्ने तयारी गरिएको अध्यक्ष डाँगीले बताए। त्यसपछि जेष्ठ नागरिक समाजले पनि वृद्धाश्रम सञ्चालनमा सहयोग गर्ने डाँगीले बताए। वृद्धावस्थामा सबैलाई स्याहारसुसारको आवश्यकता पर्ने भएकाले गाउँपालिकाले वृद्धाश्रम निर्माण गरेको अध्यक्ष डाँगीले तर्क गरे।
‘जीवनभर राष्ट्रलाई योगदान गरेका जेष्ठ नागरिकलाई सम्मान गर्ने सोचका साथ बृद्धाश्रम निर्माण गरेका हौं,’ अध्यक्ष डाँगीले भने ‘ जेष्ठ नागरिक अशक्त र आर्थिक रुपमा कमजोर भइ विचल्ली नपरुण भन्नको लागि वृद्धाश्रम निर्माण गरिएको हो।’
गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित २० लाख रुपैयाँबाट बृद्धाश्रमको दुई कोठे पक्कि भनव निर्माण गरिएको अध्यक्ष डाँगीले जानकारी दिए।
वृद्धाआश्रममा बस्ने जेष्ठ नागरिकको स्वास्थ्य उपचार, राज्यबाट प्रदान गरिने सेवा सुविधा गाउँपालिकाले आश्रममै उपलब्ध गराउने गरि योजना बनाइएको अध्यक्ष डाँगीले जानकारी दिए ।
वृद्धाश्रममा थप आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा पनि गाउँपालिकाले ५ लाख रुपैंया विनियोजन गरेको छ । त्यो रकमबाट भान्सा कोठा निर्माण गरिने छ ।