यति बेला लुटन मरिक नेपाली सेनाको जागिरमा फर्किइसके होलान्! छठको समयमा भने हामीले उनलाई सप्तरी, हनुमाननगरस्थित उनको घरैमा भेटेका थियौं। छुट्टीमा गाउँ आएका लुटनका हात बाँसका सामग्री बनाउने पुर्ख्यौली पेसामा चलमलाइरहेका थिए।
छठ जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छ दलित समुदायले बनाउने बाँसका सामग्री। दौरी, छिट्टी, कोनिया लगायत विभिन्न आकारप्रकारका बाँसका भाँडाकुँडा छठमा अनिवार्य हुन्छन्। समग्रमा यी सबैलाई 'ढाकी' भनिन्छ।
छठमा आफ्नो घरमा फलेका फलफूल, तरकारी साथै घरमा बनाएको ठेकुवा लगायत परिकार घाटमा लगेर पूजा गर्ने चलन छ। त्यति बेला नयाँ ढाकी नभई हुन्न। पूजाका एक सहभागीका अनुसार आफ्नो भाकल पूरा हुँदा ढाकीको संख्या बढाउँदै, सामान थप्दै लैजाने चलन पनि छ।
बाँसका सामग्रीलाई प्राकृतिक शुद्धताको मानक मानिन्छ। मान्छेको सृष्टिसँगै बाँस जोडिएर आएको छ। शिकारी युगदेखि कृषि युगसम्म आउँदा बाँस विभिन्न रूपमा प्रयोग भएको छ। तामाका रूपमा खाएर, भाटा बनाएर, चोया काढेर र जीविकामा आवश्यक सामान बाँसबाटै तयार हुँदै आए। मान्छेको अन्त्येष्टिमा पनि बाँस नभइ हुँदैन।
समयकालमा अरू सामानले प्रतिस्थापन गरे पनि धेरै ठाउँमा बाँस अझै पनि महत्त्वपूर्ण छ। उदाहरण हो, मरिक समुदाय।
यही समुदायका लुटन स–साना चोया जोड्दै बाटा आकारको 'दौरी' बनाउँदै थिए। ३८ वर्षका उनीसँगै श्रीमती रिता, भाइ र आमा पनि काममा खट्छन्। छठमा यस्ता भाँडाको माग धेरै हुन्छ।
'सबै मिलेर दिनमा तीन-चारवटा मात्रै बनाउन सकिन्छ,' लुटनले भने, 'चोया चिरेपछि एकदिन त सुकाउनै लाग्छ। सुकेपछि बल्ल बुन्ने काम हुन्छ।'
यो काम उनको बुबाबाजेदेखि चलिआएको हो। परिवारका सदस्यले बनाएको देख्दादेख्दै उनले पनि सिके। गरिबीका कारण कक्षा पाचँसम्म पढेर पुर्ख्यौली पेसालाई नै आफ्नो जीविकोपार्जनको माध्यम बनाए। जसोतसो चल्दै थियो, त्यही बेला 'भाग्य फिर्यो'।
संकटकालताका सेनामा नियुक्त भएर उनी वीरगञ्ज पुगे।
'भाग्यले साथ दियो। चिनजानको मान्छे कर्नेल हुनुहुन्थ्यो, उहाँको सहयोगले भयो,' उनले भने, 'अहिले त जागिर खाएकै १५ वर्ष भयो।'
ब्यारेकमा उनी तालिम, आफ्नो जिम्मेवारीको काम गर्छन्। समय हुँदा त्यहाँ पनि बाँसकाे फोहोर फाल्ने सामग्री बनाउँछन्।
बेलाबेला साथीभाइलाई भन्छन् पनि रे, 'चाहियो भने सीप छ है। हामीले खाली समय सदुपयोग गर्न सक्छौं।' त्यही लगन र सीपलाई साथीभाइले तारिफ गरिदिँदा उनी दंग पर्छन्।
सेनाको जागिरबाट लुटन घर फर्किने त वर्ष दिनमा मात्रै हो। मरिक समुदायले भने वर्षभर यो पेसा अँगाल्नुपर्छ। छठमा प्रयोग भएका ढाकी चाड सकिएलगत्तै सामान राख्ने, फोहोर फाल्ने, गोबर र माटो ओसार्ने लगायत घरायसी प्रयोजनमा प्रयोग हुन्छन्। छठबाहेक बिहे, पूजाआजा र गाउँमा आवश्यक भकारी लगायत सामग्री बनाउने जिम्मा पनि मरिकहरूकै हो।
'आफ्नो वरिपरि चाहिने बाँसका सबै सामग्री हामी बनाउछौं,' लुटनकी श्रीमती रिताले भनिन्, 'मलाई यस्तो सामान चाहियो भन्छन्। अनि रोजगारी (ज्याला)को कुरा मिलेपछि हाम्रो काम सुरू।'
लुटनले १५ वर्षमै रितासँग बिहे गरेका हुन्। बाबुबाजेबाट चलिआएको सानैमा बिहे गर्ने परम्परा र यसका जिम्मेवारीका भुक्तमान हुन् उनी। अहिले त्यस्तो परम्परा मान्नेहरू बितिसके। अनि आफैंले नयाँ नियम बनाएका छन् –सानैमा बिहे नगर्ने।
उनका ३ सन्तान छन्। दुई छोरा चार र सात कक्षामा पढिरहेका छन् भने छोरीको बिहे भइसक्यो। उमेर पुगेपछि मात्रै बिहे गर्ने नियम उनले छोरीमा भने लागू गरेनन्। भन्छन्, 'छोरी त पराइ घर जाने। बीचमै को–कोसँग गएकी भए अर्को आपत।'
हामी कुराकानी गरिरहँदा उनका दुई छोरा नजिकै बंगुर चराउन गएका थिए। ढाकीबाहेक मरिकहरू बंगुर पालेर पनि आफ्नो गुजारा चलाउँछन्।
'ढाकीले मात्रै खर्च धान्न गाह्रो हुन्छ। खेतबारी धेरै छैन। बंगुर पनि नपाले रासन नै पुग्दैन,' उनी भन्छन्, 'घरमा एक-दुई जनाको जागिर भए जसोतसो टर्छ। नभए के गर्ने? दुई-तीन बंगुर बेचेर दुई-चार हजार कमाइ। जीविका धानिन्छ।'
लुटन आफ्ना छोरालाई पनि ढाकी बनाउन सिकाइरहेका छन्। पहिलो प्राथमिकता भने पढाइ नै मान्छन्।
छठ बेला एउटा ढाकीकै करिब ४ सय रुपैयाँ पर्छ। हामी कुराकानी गर्दागर्दै उनले ६ सयमा कोनिया, दौरी र छिट्टी बेचे, सस्तोमा।
'एक-दुई महिनाअघि बनाइमागे कम भाउमा बनाइदिन्छौं। आजको भोलि चाहिँदा व्यस्तता बढ्छ, ज्याला पनि,' उनले भने।
मरिक लगायत दलित समुदायको अर्को समस्या हो, आफ्नै जग्गा–जमिन नहुनु। लुटन भने भाग्यमानीमध्ये मानिन्छन् जसको चार कठ्ठा जग्गा छ। आफ्नो जग्गामा बंगुर र केही कुखुरा चराउँछन्। धेरै राख्यो भने हराउँछ, अर्काको बाली बिगार्छ भनेर ६ वटा बंगुर पालेका छन् जुन वर्षमा दुईपटक ब्याउँछ। बाँकी जग्गा खाली छ।
'केही रोपेर के गर्नु, बाढीले बगाइहाल्छ,' कोशीको कहर सम्झँदै उनले भने, 'बाढीमा हामी नै त सडकमा आउनुपर्छ।'
कोशी ब्यारेजदेखि हनुमाननगरको दुरी करिब ११ किलोमिटर छ। बाँधले गाउँ र नदी छुट्याएको छ। वर्षामा सबभन्दा बढी प्रभाव यही ठाउँ वरिपरि हुन्छ। पहिले यो ठाउँ सप्तरीको सदरमुकाम थियो। बाढीकै कारण यहाँका मुख्य कार्यालय, अस्पतालदेखि मन्दिर–मूर्ति सबै नयाँ सदरमुकाम राजविराज सारियो। बाढी र वर्षाको यो सास्ती लुटनलगायत स्थानीयले बर्सेनी भोग्नुपर्छ।
'पानी घरमा छिर्छ,' रिताले थपिन्, 'रोडमा बसिरहन्छौं, धन्न बाढी त्यहाँसम्म चढ्दैन।'
बाढी नआएका बेला मात्रै हो ढाकी बनाएर बेच्ने। तर यो पनि आफ्नो गाउँबाहेक अन्यमा बेच्न नपाइने मरिकहरूको नियम रहेछ। बाँसका सामग्री बेचबिखन गर्न 'सिंगो गाउँ' नै किनबेच हुने यो समुदायको मुख्य विशेषता हो।
मरिकहरूको आ–आफ्नो 'बजार' गाउँ छुट्याइएको हुन्छ। अर्को गाउँमा उनीहरूले बेच्न पाउँदैनन्। आफ्नो सामान बेच्नु नै छ भने उसले सुरूमा त्यो गाउँ किन्नुपर्छ। त्यो भनेको एउटा गाउँ किन्न मरिकले तोकिएको रकम अर्को मरिकलाई तिर्नुपर्छ।
'अर्को कुनै गाउँमा सामान बेच्ने भए सहमतिअनुसार पैसा तिरेर गाउँ किन्नुपर्छ,' लुटनले भने, 'गाउँ किनेपछि जग्गामा घर बनाएर बस्न पाइन्छ। अनि बिक्रेता मरिककाे बजार र त्यहाँका ग्राहक पनि आफ्नै हुन्छन्।'
लुटन परिवार पनि नजिकैको जोगनियाबाट हुनमाननगर सरेको रहेछन्। त्यहाँका स्थानीयले मरिक परिवार नजिक भए 'बंगुर पाल्छ, फोहोर हुन्छ, यहाँ नराख्ने' भनेपछि त्यहाँको जग्गा बेचेछन्।
बेलाबेला पुराना र संकुचित सोचका मान्छेले दलित भएकै कारण आफूलाई गर्ने व्यवहार देखेर उनलाई दिक्क लाग्छ। केही दिनअघि चिया पसलमा यस्तै भयो। पसलेले अरूलाई शिशाको गिलासमा चिया दिँदा उनलाई भने प्लास्टिककोमा दिए। लुटनलाई चित्त बुझेन।
पसलेलाई भनेछन्, 'आजभोलि कहाँ त्यस्तो चलन हुन्छ? समय फेरिइसक्यो। अरू शिशाको गिलासमा खान्छन्, हामी मरिक भने अझै प्लास्टिककोमा खाने?'
यस्ता व्यवहार सहनुपरे पनि पुर्खौंदेखिको पेसाले छठ, बिहे लगायतमा 'पुण्य कमाउने' बाटो पाएको उनलाई लाग्छ। छठ त झन् सबैलाई समान व्यवहार गरेर, शुद्ध मनले पूजा गर्ने पर्व भएकाले कुनै रोकटोक नभएको उनी बताउँछन्।
निस्फिक्री पूजा गर्न पाउने भएपछि लुटन खुसी सुनिन्थे।
सबै तस्बिरः सबिना श्रेष्ठ/समिक्षा अधिकारी