कञ्चनपुर नाकाबाट भित्र्याइएका चोरीका चार वटा महँगा गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले गोरखा सुलिकोट गाउँपालिका-७ घर भई हाल तारकेश्वर नगरपालिका-५ बस्ने मुकुन्द पुडासैनी र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भई काठमाडौं काभ्रेस्थली-२ बस्ने दीपकबहादुर बुढा छन्।
उनीहरूलाई बिहीबार राति राजधानीका विभिन्न स्थानबाट चोरीका गाडीसहित पक्राउ गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले बताए।
उनका अनुसार चोरीका बा१८च ३१३८, बा२१च ३१३८ नम्बरको स्कार्पियो, डिएल २ सीएजेड ७७९९ नम्बरको क्रेटा र बा ११ च ९७४९ नम्बरको फर्चुनर गाडी पक्राउ परेका छन्।
फरक मूल्यका स्कार्पियो एउटा ६५ लाख र एउटा पचास लाख रुपैयाँ पर्छ। क्रेटा ५९ लाख र फर्चुनर एक करोड तीस लाख रुपैयाँ नेपाली पर्छ।
पक्राउ परेका पुठासैनी आदित्य ट्रान्सपोर्ट सोह्रखुट्टेका सञ्चालक हुन्। बुढा त्यहीँ काम गर्छन्। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको कुँवरले बताए।
चोरीका गाडी भित्रिने गरेको सूचनाका आधारमा प्रहरीले पुडासैनीको खोजी गरिरहेको थियो। खोजी गर्ने क्रममा उनीहरूलाई चोरीका गाडीसहित फेला पारिएको प्रहरीले जनाएको छ।
कुँवरका अनुसार यी गाडी २२ देखि ३० लाख रुपैयाँसम्म बिक्री गर्न खोजिएका थिए। गाडीको भन्सार तिरिएको छैन। यातायातमा समेत दर्ता नभएका यी गाडी प्रहरीले राजश्व अनुसन्धान विभाग बुझाउने तयारी गरेको छ।
‘यतिका महंगा गाडी भन्सार नतिरी कसरी नेपाल छिराइयो भन्नेबारे सोधपुछ भइरहेको छ,’ डिएसपी कुँवरले भने।