रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरको समग्र अवस्थाको जानकारीसहित स्थानीय पाठ्यक्रम निर्माणको तयारी थालेको छ।
विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले नगरपालिकाले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम अघि बढाएको हो।
पहिलो चरणमा कक्षा १ देखि ५ सम्म र दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने समितिको तयारी छ। पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्था लगायतका विषयमा जानकारी दिइनेछ।
स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले आगामी शैक्षिक सत्रबाट नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने जानकारी दिए । तिलोत्तमामा हाल ८५ वटा विद्यालय छन्।
स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहने भएकाले विद्यार्थीका लागि रुचीकर रहने शिक्षा उप–सचिव गंगाराम आचार्यले बताए। नेपालको संविधानले नै स्थानीय पाठ्यक्रमको परिकल्पना गरेको छ भने माध्यमिक तहसम्मको शैक्षिक अधिकार स्थानीय सरकारलाई दिइएको छ।
पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरुसंग स्थानीय पाठ्यक्रममा समेट्नु पर्ने विषयका बारेमा लिएका सुझावको आधारमा पाठ्यक्रम निर्माण गर्ने जनाएको छ।