बाराबाट दुई जना हुण्डी कारोबारी साढे ३५ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बारा, विशेष ब्युरो तथा सुरक्षा प्रहरी वेस क्याम्प लंगडाचोकको टोलीले हुण्डीको रकमसहित दुई जनालाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ का २३ वर्षीय सुनिल महतो र २२ वर्षीय राजनकुमार दुबे छन्।
बारा पचरौता नगरपालिका-८ लंगडाचोकको सडकमा मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले शंका लागेर सोधपुछ गर्दा स्रोत नखुलेको रकम भेटिएको बारा प्रहरीले जनाएको छ। ना२६प १६४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले झोलाभित्र लुकाएर राखेको उक्त रकम फेला परेको थियो।
उक्त रकमको स्रोत खोजी गर्दा नखुलेपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख एसपी विकासराज खनालले बताए।
खनालका अनुसार दुवैमाथि प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले बोक्ने मोबाइलमा बिभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चेक तथा भौचरहरूको फोटो र कारोबारको रेकर्ड फेला परेको छ। उनीहरूले करोडौं रुपैयाँको कारोबार गरेको विवरण फेला परेको खनालले बताए।
हुण्डीमा प्रयोग हुँदा रकम कारोबारको कानुनी दायित्व पूरा नहुने हुनाले यो प्रतिबन्धित छ।
स्रोत नखुल्ने रकम हुण्डीमार्फत् कारोबार हुने गरेको प्रहरीको भनाइ छ।
दुवैलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी कसूर २०७३ अन्तर्गत बारा जिल्ला अदालतबाट हिरासतमा राख्न दिन पाँच दिनको म्याद थप भई अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।