मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले छ घन्टा होस्टल बस्न रोक लगाएको छ।
विद्यार्थीका अनुसार बिहीबार बिहानदेखि धर्नामा बसेका करिब एक सय विद्यार्थीलाई कलेज प्रशासनले छ घन्टासम्म होस्टल छिर्न नदिएको हो।
‘हामी चिसो भुइँमा छ घन्टा धर्नामै बसेपछि प्रहरीसमेत आयो, हाम्रो होस्टलको ताला खोल्यो, धर्ना रोकेर होस्टल जान खोज्दा कलेजले रोकेको थियो,’ एक विद्यार्थीले सेतोपाटीसँग भने।
नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्। शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो।
तर, उक्त निर्देशन दिएको दस दिन पुगे पनि बढी उठाइएको शुल्क फिर्ता नभएपछि विद्यार्थी बिहीबार बिहानदेखि कलेजअगाडि धर्नामा बसेका थिए। ‘गैरकानुनी तरिकाले उठाइएको शुल्क फिर्ता गर्न सरकारले अल्टिमेटम दिँदा पनि कुनै प्रतिक्रिया नआएपछि हामी धर्नामा बसेका थियौं,’ ती विद्यार्थीले भने, ‘तर, कलेज प्रशासनले माग सम्बोधन गर्नुको सट्टा हामीलाई होस्टल छिर्न दिएन।’
मंसिरको चिसोमा लामो समय बाहिर बसेको विद्यार्थीहरूले बताए। सो धर्नामा एमबिबिएस पहिलो, दोस्रो तथा अन्य ब्याचका विद्यार्थी पनि थिए। सो कलेजले पहिलो र दोस्रो विद्यार्थीसँग गैरकानुनी तरिकाले उक्त बराबरको रकम असुलेको विद्यार्थीको गुनासो छ।
पर्सा प्रहरीका अनुसार विद्यार्थीहरू दिउँसो धर्नामा बसेका थिए। कलेज प्रशासनले होस्टल छिर्न नदिएको भन्ने गुनासो आएपछि विद्यार्थीलाई होस्टल प्रवेशका लागि वातावरण सिर्जना गरिएको प्रहरीले बतायो। ‘गुनासो आएपछि हामीले व्यवस्थापनको पहल गर्यौं, हामी विद्यार्थीलाई अफ्ठेरो अवस्थामा बस्न दिएनौं,’ पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले भने।
अर्का विद्यार्थीका अनुसार धर्नामा बसेपछि दिउँसो कलेज सञ्चालक बसरुद्दिन अन्सारी आफैं कुरा गर्न आएका थिए। उनसहित आएका १५ जनाजतिले ल्क समस्या सम्बोधन गर्ने क्रममै धर्नामा बसेको भन्दै ‘जिउँदै गाडिदिन्छु’ भनी धम्की दिएर फर्किएको ती विद्यार्थीले सेतोपाटीलाई बताए।
नेसनल सञ्चालक अन्सारीले आफू दिउँसो विद्यार्थीसँग भेट्न गएको स्वीकार गरे। त्यसक्रममा विद्यार्थीसँग कुराकानी भएको पनि बताए। ‘विश्वविद्यालयबाट शुल्क फिर्ताको लागि पत्राचार भएको छ, हामी फिर्ताका लागि प्रक्रिया थालिरहेका बखत विद्यार्थीले धर्ना थाले,’ अन्सारीले भने, ‘कलेजले होस्टल छिर्न नदिएको कुरा गफ मात्र हो। हामीले विद्यार्थीको माग सम्बोधन गरिरहेकै छौ।’ अन्सारीले कलेज प्रशासनका ‘कसैले’ विद्यार्थीलाई धम्की दिएको थाहा भए छानबिन गर्ने बताए।
नेसनल मेडिकल कलेजले एमबिबिएसमा सय सिट संख्यामा विद्यार्थी भर्ना गरिरहेको छ। त्यहाँ अध्ययनरत् अधिकांश विद्यार्थीले कलेजले अतिरिक्त शुल्क उठाएको बताएका छन्।
सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।
विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले जथाभावी शुल्क उठाइरहेको छ। शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको विद्यार्थीहरू बताउँछन्।