शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवलमा कार्यरत सव इन्जिनियर सन्दिप पौडेल र जेसिभी चालक एक लाख २० हजार घुस रकमसहित पक्राउ परेका छन्।
विद्यालयको भवन निर्माणको अन्तिम किस्ता बापतको रकम विद्यालय खातामा निकासा गर्ने क्रममा पटक पटक सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए।
पौडेलले प्रभाकर माविको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्तावापतको रकम निकासा गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम माग गरेको पाइएको आयोगले जनाएको छ।
घुसमा संलग्न सव इन्जिनयर पौडेल र मतियारको रुपमा प्रयोग गरेका जेसिभी चालक बिक्रम बस्नेतलाई रङ्गे हात पक्राउ गरी शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले बताए।
पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम तथा बिक्रम बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (घ) बमोजिम सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।