आउँदो बिहीबारदेखि देशभरि चिसो झनै बढ्ने भएको छ। पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायु बुधबार साँझ नेपाल प्रवेश गरेसँगै तापक्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ३.३ डिग्री सेल्सियसमा पुगेको छ।
महाशाखाका मौसमविद् वरूण पौडेलेका अनुसार यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ।
‘यो प्रणाली बिहीबार अझै सशक्त हुनेछ। त्यसले देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना छ,’ पौडलेले भने,‘बिहीबारदेखि काठमाडौं उपत्यकामा पनि घाम फाटफुटमात्र लाग्नेछ।’
उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने पौडेलले बताए।
‘देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ,’ पौडेलले भने।
यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
मंसिर २४ गते (मंगलबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
मंसिर २५ गते (बुधबार)
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ।
राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ।
मंसिर २६ गते (बिहीबार)
दिउँसो: देश भर सामान्यदेखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च हिमाली भूभाग हरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च हिमाली भूभाग हरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।