नक्कली भ्याट बिल तथा भन्सार चोरी पैठारी प्रकरणमा राजश्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा एक दर्जन व्यक्तिउपर छ करोड चौध लाख ९७ हजार रुपैयाँ बिगो माग्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
विभागका अनुसार एस एण्ड एस अफसेट प्रेस र रामशरण गौतमलाई राजस्व चुहावट गरेको अभियोगमा २ करोड ७९ लाख ७९ हजार १९५ बिगो कायम मुद्दा दायर गरिएको छ। गौतमले वस्तु तथा सेवा खरिद नै नगरी झुठो बिजक खरिद गरी आयकरसमेत छलेको आरोप विभागले लगाएको छ।
सो कम्पनीले मुअकर ८२ लाख ६२ हजार ८२ र आयकरतर्फ एक करोड २७ लाख १९ हजार ९४७ छलेको अनुसन्धानमा देखिएको छ।
यस्तै, नुवाकोट विदुर नगरपालिका १३ का सन्तबहादुर ओझासमेत सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउँपालिका ८ का कृष्णानन्द भट्ट, वीरगञ्ज महानगरपालिका ३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउँपालिका ४ का अभयराज घिमिरे गरी ६ जनाविरूद्ध राजस्व चुहावट गरेको अभियोगमा १ करोड ७२ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
उनीहरूले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्बर प्लेटका गाडी नेपालमा ल्याई नक्कली नम्बर प्लेट लगाएर बिक्री वितरण गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ।
यस्तै, विदुर नगरपालिका ८ का श्रेष्ठसहित पाँच जनामाथि राजस्व चुहावट गरेको अभियोगमा १ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ। मुद्दा दायर भएका अन्यमा सन्तोष राई, सन्तबहादुर ओझा, बैतडी भट्नापुडचौर गाउँपालिका ८ का कृष्णानन्द भट्ट र वीरगञ्ज महानगरपालिका ३ का निजामुद्धिन छन्। उनीहरूले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्बर प्लेटका गाडी नेपालमा ल्याएर नक्कली नम्बर प्लेट लगाएर बिक्री वितरण गरी राजस्व चुहावट गरेको विभागको आरोप छ।
सबैलाई बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायसमेत मागिएको विभागले जनाएको छ।