ट्रेलरले अटोलाई ठक्कर दिँदा आइतबार अटो चालकसहित दुईको मृत्यु भएको छ।
प्रहरीका अनुसार धनकुटा नगरपालिका २ का २५ वर्षीय दशरथ पाख्रिन र अटोमा सवार तेह्रथुम छथर गाँउपालिका १ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको हो।
मध्याह्न १२ बजे धनकुटा छथरजोरपाटी २ फलैचास्थित कोसी लोकमार्गमा हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को२ह ६६११ नम्बरको अटोलाई विपरीत दिशाबाट आउँदै गरेको को१ख ६९१२ नम्बरको ट्रेलरले ठक्कर दिँदा पाख्रिन र शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
ठक्कर दिने ट्रेलर र ट्रेलर चालक संखुवासभा मादिमुलखर्क बस्ने ज्ञानबहादुर गुरुङ प्रहरी चौकी सिधुवाको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।
यस्तै, मोटरसाइकल दुर्घटनामा परी सिराहा भगवानपुर२ का ४५ वर्षीय वीरेन्द्रप्रसाद साहको मृत्यु भएको छ। आइतबार बिहान बिहान साढे ९ बजे सुनसरी कोसी गाउँपालिका १ लौकहीस्थित पूर्वपश्चिम राजमार्गमा बा३५प २९७५ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेटको बिआर३८एस ४८१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बा३५प २९७५ नम्बरको मोटरसाइकल चालक साहको मृत्यु भएको हो।
दुबै मोटरसाइकल र अर्का चालक दिलीप मण्डल इलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।