मकवानपुरबाट २१ किलो गाँजासहित बिक्री वितरणमा संलग्न दुई जना पक्राउ परेका छन्।
धनुषा मुख्यापट्टी गाउँपालिका-६ का ४२ वर्षीय अशोकुमार यादव र मकवानपुर मनहरि गाउँपालिका-९ का ४० वर्षीय राजकुमार मोक्तान पक्राउ परेका हुन्।
बिआर०६बिजी ९५१२ नम्बरको भारतीय नम्बरको कारमा सवार उनीहरूलाई आइतबार बिहान सवा १ बजे प्रहरीले मकवानपुरबाट पक्राउ गरेको हो।
पूर्वपश्चिम राजमार्गस्थति हेटौडा उपमहानगरपालिका-१९ मा मनहरिबाट हेटौडातर्फ जाँदै गरेको उक्त कारलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो। चेकजाँच गर्दा पाँच वटा पोकामा २१ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कारको पछाडिपट्टिको सिटमुनि गाँजा लुकाएर राखिएको थियो। पक्राउ परेकामध्ये यादव कार चालक हुन्। दुबै गाँजाका कारोबारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कसुर स्थापित भए दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।