भक्तपुर जिल्ला प्रशासन कार्यालयले झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न बुधबार प्रहरीलाई अनुमति दियो।
आफूलाई घूस मागेको आरोप लगाएकै कारण प्रसाईंविरूद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले अभद्र व्यवहारको उजुरी हालेको र त्यसकै कारण प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरेको धेरैको आशंका थियो।
यसैबीच एकाएक अभद्र व्यवहार गरेको भन्दै प्रहरीले प्रसाईंविरूद्ध अनुसन्धान थालेको र जिल्ला प्रशासन कार्यालयले उनलाई पक्राउ अनुमति दिएको कुरा सार्वजनिक भयो।
घुस मागेको आरोपमा नभई आफ्नो कार्यालयमा मान्छे पठाउने हुलदंगा गर्ने गरेको भन्दै गिरीले उजुरी गरेपछि अभद्र व्यवहारमा प्रसाईंविरूद्ध अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
भक्तपुरकी सिडिओ हुमकला पाण्डेले उनलाई पक्रन बुधबार नै वारेण्ट जारी गरेको कार्यालय स्रोतले पुष्टि गरेको छ।
पुस २७ गते प्रसाईंका मानिस सानो ठिमीस्थित आयोगको कार्यालयमा आएर हुलदंगा मच्चाएको र आफूले सुरक्षा थ्रेट महशुस गरेको भन्दै गिरीले उजुरी दिएको भक्तपुर प्रहरीका एसपी सविन प्रधानले बताए।
'दुर्गा प्रसाईंले आफ्नो कार्यालयमा मानिसहरूको समूह पठाएर हुलदंगा गर्ने, पर्चा फाल्ने, आफूविरूद्ध नारा लगाउने, धम्क्याउने जस्ता कार्य गरेको र आफूलाई सुरक्षा थ्रेट भएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिनुभएको छ,' उनले भने, 'त्यही उजुरीमाथि हामीले कानुनअनुसार नै अनुसन्धान अघि बढाएका हौं। घूस मागेको भन्दै गरेको पत्रकार सम्मेलन वा त्यससँग सम्बन्धित विषयमा हामीले अनुसन्धान अघि बढाएका होइनौं।'
मुलुकी संहितामा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न नहुने उल्लेख गरेको छ। यस्तो गरेमा गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने पनि कानुनमा उल्लेख छ।
गिरीले आयोग सार्वजनिक ठाउँ भएको र त्यहाँ प्रसाईंले हुलदंगा गर्न मानिस पठाएको आरोप लगाएका हुन्।
त्यसमाथि उनले आफूलाई सुरक्षा थ्रेट भएको उजुरीमा उल्लेख गरेका छन्। उनको आरोपबारे प्रतिक्रिया लिन खोज्दा प्रसाईंको मोबाइल अफ भएकाले सम्पर्क हुन सकेन।
प्रसाईंले बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए।
निवेदन लिएर जाँदा दर्ता नगराई गिरीले काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बोलाएर २० करोड रुपैयाँ वा कलेजको दस प्रतिशत सेयर मागेको आरोप प्रसाईंले लगाएका थिए।
प्रसाईंले यस्तो आरोपमात्र लगाएका थिएनन् सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत गिरीविरूद्ध उजुरी गरेका थिए।
प्रसाईंले आफूले विभाग र अख्तियारमा हालेको उजुरीका विवरण सोमबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरे।
मंगलबार गिरीले पनि प्रसाईंले आफ्नो मानमर्दन गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।
‘उहाँले झूटा तथा कपोलकल्पित आरोप लगाएर बेइज्जत गरेपछि मुद्दा दायर गरेको हुँ,’ मंगलबार गिरीले सेतोपाटीसँग भनेका थिए।
त्यसको भोलिपल्टै उनी अभद्र व्यवहारको उजुरी लिएर भक्तपुर प्रहरी परिसर पुगेका हुन्।
यो पनि :
दुर्गा प्रसाईंलाई पक्रन जिल्ला प्रशासन कार्यालय भक्तपुरको वारेण्ट