काठमाडौं महानगरपालिका १४ कलंकीमा नक्कली नोटको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
एक हजारका ३१ थान नेपाली नक्कली नोटसहित दुई जनालाई आइतबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीले जनाएको छ।
पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँका २२ वर्षीय रवि आले मगर छन्।
बृत्तका प्रहरी नायब उपरीक्षक रूगम कुँवरका अनुसार उनीहरूसँग चालीस हजार रूपैयाँ नक्कली नोट थियो। सोमध्ये उनीहरूले केही रूपैयाँ खर्च गरिसकेका थिए।
‘हेर्दा फोटोकपी गरेजस्तो देखिन्छ, एउटै नम्बर भएका धेरै नोट छन्,’ कुँवरले सेतोपाटीसँग भने। कुँवरका अनुसार नक्कली नोटका मुख्य कारोबारी अर्कै रहेको पत्ता लागेको छ। उनको खोजी भइरहेको कुँवरले बताए।
‘आफ्नो हातमा केही पैसा आएपछि उनीहरूले डान्स बार र डिस्कोमा गएर खर्च गरेको देखिन्छ,’ कुँवरले भने। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बृत्तले जनाएको छ।