भक्तपुर, बारा, सुर्खेत र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटार चोकमा प्रदेश ३ ०२ ००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर पुरानो ठिमीका ३५ वर्षीय सतेन्द्र लिम्बूको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पुरानो ठिमी बस्ने झापा घर भएका ५३ वर्षीय बासुदेव खरेलको सोही अस्पतालमा उपचार भइरहेको छ।
बारा, कलैया उपमहानगरपालिका २७ पसाहा पुलमा ना७त ६२४० नम्बरको टयाक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार सोही उपमहानगरपालिका १६ का २७ वर्षीय छट्टु महतोको मृत्यु भएको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका २ रेडियो नेपालस्थित सडकमा भे५प ६४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका ३ तातोपानी बस्ने दैलेख दुल्लु घर भएका २३ वर्षीय शिखर गिरीको मृत्यु भएको छ। गिरीको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो।
मकवानपुर, मनहरी गाउँपालिका ७ सिविरस्थित सडकमा आइतबार बिहान ना७ख ३८४४ नम्बरको बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। सोही स्थानका ४० वर्षीय भीमराज स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ। बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक फरार छन्।