घुस लिएको र सरकारी पदको दुरुपयोग गरेको आरोपमा चीनका पूर्व इन्टरपोल प्रमुख मेङ हङवेइलाई अदालतले सजाय तोकेको छ।
चीनको एक अदालतले मेङलाई साढे १३ वर्ष जेल सजाय र २ मिलियन युआन जरिवाना तोकेको हो।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल फ्रान्सका अनुसार मेङले २०१८ को अन्त्यतिर अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसको केही दिनपछि उनकी श्रीमतीले चीनको यात्राका क्रममा मेङ हराएको रिपोर्ट गरेकी थिइन्।
गत जुलाईको अन्त्यमा दोष स्विकारेका मेङले टियान्जिनको उत्तर सहरस्थित अदालतमा फैसलाका विरुद्ध अपिल नगर्ने बताएको अनलाइन विज्ञप्तीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।
गत मार्चमा सत्तारुढ कम्युनिष्ट पार्टीले गरेको अनुसन्धानबाट मेङले राज्य कोषको ठूलो रकम खर्च गरेको, पदको दुरुपयोग गरेको र पार्टीको निर्णय मान्न अस्वीकार गरेको भेटिएको थियो।
मेङले साढे १४ मिलियन युआनभन्दा बढी घुस रकम लिएको र २००५ देखि २०१७ सम्म सार्वजनिक सुरक्षा मन्त्रालयमा कार्यरत भइ पदको दुरुपयोग गरेको अदालतको ठहर छ।