कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते बस्ने भएको छ।
कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान अनुसार गठित प्रदेश विकास परिषदको बैठक पहिलो पटक बस्दैछ।
परिषदका अध्यक्ष मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका बारेमा सदस्यहरूको सुझाव तथा मार्गदर्शन लिइने छ।
प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायाका अनुसार कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रूपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आ.व. ०७६/७७–०८०/८१) मस्यौदामा १० वटा परिच्छेद रहेका छन्।
पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिने रोकायाले जानकारी दिए।
माघ १० गते बिहान ८ बजेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने बैठकको सबै तयारी पूरा भएको परिषद् सदस्य समेत रहेका प्रदेश योजना आयोगका सदस्य रोकायले जानकारी दिए।
उनका अनुसार बैठकमा परिषदका १ सय २० जना पदाधिकारी तथा ११ जना विज्ञ, आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछ।
मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेश विकास परिषदमा आर्थिक मामिला तथा योजना मन्त्री सहअध्यक्ष छन्।
प्रदेश सरकारका विभागीय मन्त्री, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका विषयगत समितिका अध्यक्ष, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, प्रदेश सरकारका सचिव सदस्यका रूपमा छन्।
परिषदमा सरकारले मनोनित ५ जना सदस्य पनि छन्। यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेका छन्।