सरकारले ‘कोरोना भाइरस’विरुद्ध नेपालमा सर्तकता अपनाएको दावी गरेको छ।
चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ। तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा सामान्य छलफल समेत भएको छ।
छलफलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।
‘कोरोना भाइरस’ भएको शंका लाग्ने वित्तीकै विशेष एम्बुलेन्स मार्फत अस्पतालसम्म पुर्याउने व्यवस्था समेत गर्न लागिएको उनले बताए। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन, टिचिङ लगायत अस्पतालमा उपचार गर्न सकिने पाण्डेले बताए।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्प डेस्कलाई व्यवस्थित गर्ने, त्यहाँ स्क्यानरहरु राख्ने र ज्वरो आएकोलाई डेडिकेटेड एम्बुलेन्सबाट पिकअप गरी सम्बन्धित अस्पतालहरुमा लगिनेछ’ उनले भने।
अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि स्वासप्रस्वासबाट सर्ने भएकाले यो डरलाग्दो भएको उनले बताए।
‘कोरोना भाइरस’ लागेमा रुघा लाग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने गर्छ। बेलैमा उपचार हुन नसके यसले ज्यान जान सक्छ।
यसबाट सुरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकोले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने डा. पाण्डेले बताए।