सर्लाहीको उत्तरी चुरे क्षेत्र स्थित परवानीपुरमा रहेको एनसेलको मोबाइल टावरमा विष्फोट गराइएको छ ।
लालबन्दी नगरपालिका–१६ स्थित टावरमा गएराती १ बजेतिर विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिएका छन्।
‘म पनि अहिले भर्खरै घटनास्थल पुगेर मलंगवा आईपुगेँ,’ पोखरेलले भने, ‘धानखेतको बीचमा रहेको टावरमा विष्फोट गराइएको रहेछ। विष्फोटबाट सोलार प्यानल, युपिएस तथा तारमा क्षति पुगेको छ।’
क्षतिको अवस्था हेर्दा सामान्य मर्मत गरेपछि केही समयमा नै टावर सञ्चालनमा आउने प्रहरी उपरीक्षक पोखरेलले दाबी गरे।
विष्फोटबाट टावरमा क्षति पुगेपछि त्यस क्षेत्रका एनसेल सिम मात्र बोक्ने अधिकांश उपभोक्ता सञ्चार सेवाबाट बञ्चित भएका छन्।
विष्फोट विप्लव समूहले गराएको हुनसक्ने आशंका सहित सुरक्षानिकायले अनुसन्धान अगाडि बढाएको छ।
राती ठूलो आवाज सहित विष्फोट भएपछि गाउँलेहरुले सुरक्षानिकायमा खबर गरेको बताइएको छ।
राती नै प्रहरी उपरीक्षक पोखरेल, सशस्त्र प्रहरी १० नम्बर गणका निमित्त गणपति सशस्त्र प्रहरी उपरीक्षक दामोदर ढोडारी लगायत सुरक्षा अधिकृतहरु राती नै घटनास्थल पुगेर निरीक्षण गरेका थिए।