ओखलढुंगाको चम्पादेवी गाउँपालिका-५ का ५५ वर्षीय सन्तोष विक सोमबार बिहान बिरामी भए।
छोरी कल्पना विकले गाउँको एउटा बोलेरो बोलाइन्।
बा२१च ७३६१ नम्बरको बोलेरो लिएर धनी तथा चालक जगतबहादुर खत्री घरनजिकै पुगे।
कल्पनाले छिमेकी अनिता बुढाथोकीलाई साथ लिएर जिल्ला अस्पताल ओखलढुंगातर्फ जान चालकलाई अनुरोध गरिन्।
बिहान सखारै बिरामी लिएर हिँडेको त्यही बोलेरो दुर्घटना हुँदा बिरामी सन्तोषले उपचार नपाउँदै ज्यान गुमाएका छन्।
ओखलढुंगा प्रहरीका निरीक्षक श्रीप्रसाद राईका अनुसार सन्तोष के कस्तो बिरामी भएका हुन् भन्ने खुलेको छैन।
बोलेरो ओखलढुंगा जाने क्रममा बाटोमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो।
बिहान साढे ६ बजे उक्त बोलेरो बाटोबाट करिब चार सय मिटर तल गोपे खोलामा खसेर दुर्घटना हुँदा बोलेरोमा सवार ५५ वर्षीय विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
घटनास्थलमा प्रहरी गएर घाइतेहरूको उद्धार गरेको छ।
घाइते हुनेमा कल्पना विक, जतबहादुर खत्री र अनिता बुढाथोकी छन्।
उनीहरू सबैको अवस्था गम्भीर छ। उनीहरूलाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
उनीहरूको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
‘घाइतेको अवस्था चिन्ताजनक भएकाले घटनाबारे सबै जानकारी लिन पाइएको छैन,’ राईले भने।