गोरखाको अजिरकोट गाउँपालिकाले एक वा दुई छोरीमात्रै पाउने दम्पत्तिको छोरीलाई माध्यमिक तह पढाइ दिने भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष ०७५/०७६ को निर्णयअनुसार दुई जनासम्म छोरीमात्रै पाई स्थायी बन्ध्याकरण गरेका अभिभावकका लागि कार्यक्रम ल्याइएको सूचना अधिकारी सुरेश दवाडीले जानकारी दिए।
'छोराकै आशमा धेरै सन्तान जन्माउने अझ पनि परिपाटी छ,' उनले सेतोपाटीसँग भने, 'यस अवस्थामा एक/दुई जना छोरी भएर पनि स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिका छोरीलाई गाउँपालिकाले ११ र १२ पढ्न छात्रवृत्ति दिन्छ।'
‘छोरी भए पुगिसरी' कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका छोरीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको उनले बताए।
'यो स्कुल, यो ठाउँ, यो विषयमा पढेको हुनुपर्ने भन्ने प्रावधान छैन। क्षेत्राधिकार भित्र पर्ने सबैलाई लाग्ने शुल्क तिरिदिन्छौं,' उनले भने।
सूचना अधिकारी दवाडीका अनुसार छात्रवृत्तिका लागि निवदेन दिन गाउँपालिकाभित्रका दुई छोरीसम्म मात्रै जन्माएर स्थायी बन्ध्याकरण गरेको हुनुपर्छ।
उनीहरूले स्थायी बन्ध्याकरण गरेको प्रमाणसहित गाउँपालिकामा निवेदन दिन सक्नेछन्।
'अहिलेसम्म ७/८ जनाले निवेदन दिनुभएको छ। निवेदन संकलन गरिरहेकाले यो संख्या अझ पढ्न सक्छ,' उनले भने।
गाउँपालिकाले यस कार्यक्रमका लागि पहिलो चरणमा एक लाख बजेट छुट्टाएको छ। बजेट कमी भए हिउँदे अधिवेशनबाट पारित गरेर भए पनि योग्यता पुगेका निवेदकलाई छात्रवृत्ति प्रदान गर्ने दावडीको भनाइ छ।
यस कार्यक्रमले छोरा नै चाहिन्छ भन्ने मानसिकतालाई केही हदसम्म कम गर्न मद्दत पुर्याउने उनले बताए।