नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अकुत सम्पत्ति जोडेको भन्ने उजुरीमाथि संसदीय समितिमा छलफल हुने भएको छ।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले पूर्वप्रधानसेनापति क्षेत्रीले पदमा रहँदा गरेको अनियमितता र भ्रष्टाचारको छानबिन गर्नुपर्ने भन्ने उजुरीलाई समितिमा पेश गरेको हो।
गत असोजमा नेकपा सांसद रेखा शर्माको संयोजकत्वमा राज्य व्यवस्था तथा सुशासन समितिले प्राप्त गुनासो तथा उजुरीहरूको संक्षिप्त विवरण र उजुरी सुनुवाइ कार्यदल गठन गरेको थियो।
कार्यदलमा नेकपा सांसद नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य छन्।
क्षेत्रीमाथि परेको उजुरीमाथि सुनुवाइ गर्दै कार्यदलले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा छानबिन गरी समितिलाई जानकारी गराउनका लागि लेखि पठाउन उपयुक्त भनेर समेत सुझाव दिएको छ।
पूर्वप्रधानसेनापतिमाथि सेनाको मुख्यालय बनाउने क्रममा र राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणमा अनियमितता गरेको आरोप छ।
पूर्वप्रधानसेनापतिलाई छानबिन गर्नुपर्ने लगायतका अन्य ५० वटा उजुरीलाई समितिमा पेश गरिएको कार्यदल संयोजक रेखा शर्माले सेतोपाटीलाई बताइन्।
नेकपा सांसद एवं राज्य व्यवस्था समिति सदस्य झपट रावलले पूर्वप्रधानसेनापतिमाथि परेको उजुरीबारे समितिमा छलफल गरिने बताए।
'पूर्वप्रधानसेनापति निर्दोष हुन पनि सक्नुहोला तर सत्यतथ्य बाहिर आउनुपर्छ,'रावलले भने,'हामीले हाम्रो मातहत रहेका निकायलाई बोलाएर यसबारेमा छलफल गर्छौं।'
समितिमा नेपाली कांग्रेसका सांसद एवम् समिति सदस्य अमरेशकुमार सिंहले सेनाभित्र रहेको भ्रष्टाचारको छानबिन हुनपुर्ने माग राखेका थिए।
उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण आयोगलाई बोलाएर समितिले क्षेत्रीको सम्पत्ति छानबिन गर्न निर्देशन दिनुपर्ने बताए।