राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए।
माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको मृत्यु भएका समाचार आएका छन्।
कति जना नेपाली घाइते भए भन्ने विवरण आएको छैन।
आयोगले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा मानव अधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना बनाउन पनि सरकारलाई आग्रह गरेको छ।
‘उक्त घटनामा घाइते भएकाहरूको प्रभावकारी र नि:शुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरूको सांस्कृतिक अधिकारसहितको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउन आयोग आग्रह गर्दछ,’ भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।